११ महिनामा जीवन बीमा कम्पनीहरुले आर्जन गरे साढे १ खर्ब, धेरै कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स

-



     सफल आवाज    
     असार १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ असार। नेपालका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ महिनासम्म कुल १ खर्ब २४ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन। नेपाल बीमा प्राधिकरणकाे वित्तीय तथ्यांकअनुसार १५ बीमा कम्पनीले याे शुल्क संकलन गरेका हुन्।

बीमा कम्पनीहरुले १ करोड ४० लाख ६९ वटा बीमालेखबाट उक्त रकम संकलन गरेकाे जनाइएकाे छ। जसमा कम्पनीहरुको प्रथम बीमाशुल्क २५ अर्ब ९५ करोड रुपैयाँ छ। नवीकरण शुल्कबाट ९८ अर्ब ५९ करोड रुपैयाँ उठेको छ ।

बीमा व्यवसाय घट्दै गएको भए पनि कम्पनीहरुले लामो समयदेखि व्यतीत बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म छुट दिदै आएका छन्। जेठमा मात्र कम्पनीहरुले ८ लाख ४५ हजार वटा बीमालेखबाट १० अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

प्राधिकरणको तथ्यांक अनुसार प्रथम बीमा शुल्क २ अर्ब ६२ करोड रुपैयाँ हुदाँ नवीकरण शुल्क ७ अर्ब ८१ करोड रुपैयाँ संकलन भएको छ। गत वैशाखमा एक खर्ब १४ अर्ब रुपैयाँको बीमा शुल्क संकलन भएको थियो ।

यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स छ। साे कम्पनीले ३२ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। बीमा शुल्क बढी आर्जन गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा एलआइसी नेपाल छ। कम्पनीले १५ अर्ब ४८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै आईएमई ३ अर्ब ५६ करोड, सन नेपाल लाइफ ३ अर्ब ४२ करोड, रिलायबल नेपाल ३ अर्ब २८ करोड कमाएकाे छ । उता प्रभु लाइफले एक अर्ब ८४ करोड र महालक्ष्मी लाइफले एक अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ।

नेपाल बीमा प्राधिकरणकाे वित्तीय तथ्यांकअनुसार सानिमा रिलायन्स लाइफले ४ अर्ब ८६ करोड, सिटिजन लाइफले ४ अर्ब ८३ करोड, मेट लाइफले ४ अर्ब ७७ करोड कमाएका छन ।