महानगर क्षेत्रका सहकारीलाई ३० दिनभित्र सम्पूर्ण विवरण बुझाउन कामपाको निर्देशन

-



     सफल आवाज    
     असार १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ असार। काठमाडौं महानगरपालिकाले सबै सहकारी संस्थाहरूलाई ३० दिनभित्र विवरण पेश गर्न निर्देशन दिएको छ। महानगरपालिका अन्तरगतकाे सहकारी विभागले सूचना जारी गर्दै सहकारीहरूकाे साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायतका विवरण माग गरेको हो।

पछिल्लो समय सहकारीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जानकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको छ । सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।

सहकारी ऐनको दफा २८ को उपदफा २ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ मा ३ महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने र दफा ५२ मा उक्त विवरण बुझाउनुपर्ने स्पष्ट व्यवस्था छ । दफा ६६ मा सहकारीको विघटन वा दर्ता खारेजीसम्मको व्यवस्था रहेकाे छ ।

साथै, सूचनाबारे जानकारी दिंदै मेयर बालेन शाहले सहकारीले कानुनले निर्दिष्ट गरेका दायित्व र जिम्मेवारी पूरा गर्नुपर्न बताएका छन् । उनले निरन्तर रुपमा सहकारीको निगरानी गर्न बचतकर्तालाई समेत अनुरोध गरेका छन् ।