सम्बन्धलाई ‘जिम्मेवारीपूर्वक व्यवस्थापन’ गर्ने प्रयासमा येलेनको चीन भ्रमण

-



     सफल आवाज    
     असार १८ गते २०८० मा प्रकाशित



वासिङ्टन, १८ असार । विश्वका शीर्ष दुई अर्थतन्त्रबीचको सम्बन्धमा देखिँदै आएको तनाव कम गर्न अमेरिकी अर्थमन्त्री जेनेट येलेनले यसै साता बेइजिङको भ्रमण गर्ने भएका छन्। अमेरिकी अर्थमन्त्रालयका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत जुनमा बेइजिङमा चीनका शीर्ष नेता सी चिनपिङ र विदेशमन्त्री किन गाङसँग भेटवार्ता गरेको केही हप्तापछि येलेनको जुलाई ६ देखि ९ सम्मको भ्रमण हुन लागेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “येलेनले आफ्ना समकक्षीहरूसँग ‘सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न, चासोका क्षेत्रहरूको बारेमा प्रत्यक्ष संवाद गर्न र विश्वव्यापी चुनौतीहरूको सामना गर्न सँगै काम गर्न’ दुवै देशको महत्वबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।” करिब पाँच वर्षमा चीनको राजधानी बेइजिङ भ्रमण गर्ने सबैभन्दा उच्च पदस्थ अमेरिकी अधिकारी ब्लिन्केनको गत महिना भएको भ्रमण दुर्लभ भएको र यस क्रममा वासिङ्टन र बेइजिङबीचको तनावपूर्ण सम्बन्धमा आफूले प्रगति देखेको चिनियाँ राष्ट्रपति सीले बताएका थिए।

बेइजिङमा येलेनले चीनसँगको आर्थिक सम्बन्धलाई अमेरिकाले कसरी हेर्छ भन्ने विषयमा छलफल गर्ने एक वरिष्ठ अर्थ अधिकारीले आइतबार बताए । उनले चीनका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने र प्रमुख अमेरिकी कम्पनीको अवलोकन गर्ने अमेरिकी मन्त्रालयका प्रवक्ताले बताए। “अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा हित सुरक्षित गर्न र मानव अधिकारको रक्षा गर्न चाहेको भए तापनि यस सम्बन्धी कार्यहरू ‘चीनमाथि आर्थिक लाभ प्राप्त गर्ने उद्देश्य’ ले गरिएको होइन,” उनले भने।