अफगानिस्तान र इराकबाट सैनिक फिर्ता गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

-



     सफल आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित



वासिङ्टन, ३ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई आदेश दिएका पेन्टागनले जानकारी दिएको छ ।

पेन्टागनका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट आगामी जनवरी महिनाको मध्यसम्ममा कम्तीमा पनि २ हजार ५०० अमेरिकी सैनिक फिर्ता गर्न भनेका हुन् । अमेरिकाका कार्यबाहक रक्षामन्त्री क्रिस्टोफर मिलरले सो कुराको जानकारी दिएका हुन ।

प्राप्त समाचारअनुसार जनवरी महिनाको मध्यसम्ममा अफगानिस्तानबाट २ हजार ५०० र इराकबाट पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न हालै आदेश दिएको उनले जानकारी दिएको बताइएको छ । केही समय अघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आगामी क्रिसमस अघि नै चार हजार ५०० सैनिक फिर्ता गरिसकिने बताएका थिए ।

सैनिक र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले भने अहिले नै हतार गरेर अफगानिस्तान र इराकबाट अमेरिकी सैनिकको संख्या कटौती गर्न नहुने अडान राख्दै आएका छन् । राष्ट्रपति ट्रम्प हालै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पारजित भएका छन् । अबको केही समयपछि अमेरिकी राष्ट्रपतिका रुपमा विजयी जो बाइडेनले सपथ लिँदैछन् ।

अफगानिस्तानमा सेना उपलब्ध गराएका पश्चिमा देशहरुको संगठन नेटोले भने अफगानिस्तानमा अझै पनि अन्तर्राष्ट्रिय आतंकवादीहरु रहेको बताएको छ । सो संगठनले यहाँबाट पश्चिमा मुलुकभित्र आक्रमणको योजना बन्न सक्ने भएकाेले पश्चिमा सैनिक फिर्ता गर्न नहुने बताएको छ ।