आइएमइ, प्रभु र खल्तीपे पनि नेपालपे क्युआरमा आबद्ध

-



     सफल आवाज    
     असार २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ असार। हाल नेपालमा संचालित डिजिटल वालेटहरू आइएमइपे, खल्ती र प्रभुपे नेपालपे क्युआरमा आबद्ध भएका छन्। अब ग्राहकले यी वालेटहरु प्रयोग गरी नेपालपे क्युआरको मर्चेन्टमा क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने भएकाे हाे ।

नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान, आईएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी, स्प्यारो पे (खल्ती) का प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा प्रभुपेका अपरेसन्स तथा फाइनान्स हेड रवि सिग्देललगायतले बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधिहरूका बीच संयुक्त रुपमा यी सेवाहरू सार्वजनिक भएको घोषणा गरेका थिए ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्युआर सञ्चालनमा ल्याइएको कंपनीले जनाएकाे छ ।

नेपाल पेमा हाल २७ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु र ३ भुक्तानी सेवा प्रदायकहरूले क्युआर मर्चेन्ट इनरोलमेन्ट सेवा उपलब्ध गराइरहेका छन्।

साथै २५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकहरूको वालेटहरूबाट नेपालपे क्युआरु स्क्यान गरी भुक्तानी गर्न सकिने ब्यबस्था रहेकाे छ। हाल आईएमई पेमा ४० लाख, खल्तीमा ३७ लाख र प्रभु पेमा ९ लाख प्रयोगकर्ता रहेकाे बताइएकाे छ ।