आइतबार मात्रै भयाे ४१ अर्व ६८ करोडको सरकारी भुक्तानी

-



     सफल आवाज    
     असार २५ गते २०८० मा प्रकाशित



काठमाडाैं, २५ असार । सरकारले हिजाे आइतबारमात्रै ४१ अर्ब ६८ करोड रूपैयाँको भुक्तानी गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङअनुसार आइतबार भएको भुक्तानी चालु आर्थिक वर्षभर भएको खर्चको अनुपातमा ३ प्रतिशत हो। यही व्यवस्थाको कारणले असार २० गतेदेखि २४ गतेसम्मको ४ दिनमा १ खर्ब रूपैयाँ खर्च भएको छ। यो हालसम्म भएको खर्चको ७ प्रतिशत रकम हो।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले आर्थिक वर्ष अन्त्य हुनुभन्दा कम्तीमा १ साताअघि खर्च गर्ने व्यवस्था गरेकोमा आइतबार यसरी अत्यधिक भुक्तानी भएको हाे।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वको नियमावलीले यस्तो व्यवस्था गर्नुअघि असार मसान्तमा भुक्तानीको दायित्व थुप्रने गरेकोमा अहिले एक/डेढ साता अघि सरेको महालेखा कार्यालयले बताएकाे छ।

चालु खर्च शीर्षकमा आइतबार मात्रै १८ अर्ब ४४ करोड भुक्तानी भएको छ। आइतबार पनि कतिपय कार्यालयहरूको तलब भत्ता भुक्तानी गरेका थिए। चालु वर्षको चालु खर्च १० खर्ब नाघेको छ।

गत वर्षभर भएको खर्चमा चालु खर्च ६१ अर्ब नाघेको छ। बाध्यात्मक अवस्थामा भुक्तानी गर्ने व्यवस्था गरिएको कारण अझै १०/१२ अर्ब चालु खर्च बढ्न सक्ने महालेखाका अधिकारीहरूले बताएका छन्।

महालेखाको तथ्याङअनुसार आइतबार मात्रै २० खर्ब रूपैयाँको पुँजीगत खर्च वापतको भुक्तानी भएको छ। यसमध्ये अधिकांश भुक्तानी निर्माण व्यवसायीको लामो समयदेखि रोकिएको बिल भुक्तानी हो।

व्यवसायीहरूका अनुसार आइतबारसम्म ७० अर्बको भुक्तानी लिनु पर्ने थियो। तर आइतबार मात्रै निर्माण व्यवसायीको भुक्तानी १८ अर्ब बढी भएको छ। हालसम्मको पुँजीगत खर्च दुई खर्ब १० अर्ब रूपैयाँ पुगेको छ।