अब ब्याजदरमा कार्टेलिङ हुदैन: नेपाल बैंकर्स संघ

-



     सफल आवाज    
     असार २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ असार । नेपालका बाणिज्य बैकहरूले निक्षेपकाे ब्याजदरमा कार्टेलिङ नगर्ने भएका छन। यसअघि निक्षेपको ब्याजदर निर्धारण गर्दै आएका बाणिज्य बैंकका सीईओहरुले याे सहमति तोडिएको बताएका हुन।

बैंकको ब्याजदर अस्वभाविक रुपमा तलमाथि नहोस् भनेर बैंकका सीईओहरुको संस्था नेपाल बैंकर्स संघले यसअघि भद्र सहमति गरेर ब्याजदर तोक्ने निर्णय गरेको थियो।

अब आगामी साउन १ गतेदेखि बैंकहरुले आफ्नो अनुकुल ब्याजदर तोक्न सक्ने नेपाल बैंकर्स संघले जानकारी दिएको छ । बैंकहरुले यसरी ब्याजदर तोक्दा समग्रमा ग्राहकलाइ हितकर हुने बताइएकाे छ ।

अहिले मुद्दति निक्षेपको ब्याजदर ९.९९ प्रतिशत छ। बैंकहरुले ९.९९ को ब्याजमा अधिकतम १० प्रतिशत मात्र घटाउन सक्छन्। यसो हुँदा निक्षेपको अधिकतम ब्याज ०.९९ प्रतिशतले घटेर ९ प्रतिशतमा आउनेछ। तर सबै बैंकले नियामकले गरेको व्यवस्था अनुसार १० प्रतिशतले नै घटाउने छैनन्।

बैंकहरुले आफ्नो लागत महिनैपिच्छे कर्जामा समायोजन गर्न सक्छन। अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशत तल माथि गर्न मिल्ने बताइएकाे छ। 

राष्ट्र बैंकका अनुसार जेठमा कर्जाको औषत ब्याजदर ११.५४ प्रतिशत छ। अब भदौदेखि एकल अंकमा झर्नेछ। यस अघि बढेर माघमा १३ प्रतिशत सम्म ब्याज पुगेको राष्ट्र बैंक स्राेतले बताएकाे छ।

रेमिटेन्स तथा सरकारी खर्च बढेका कारण अहिले निक्षेपमा अत्यधिक सुधार भएको हो। निक्षेप बढेपछि अन्तर-बैंक सापटी एक प्रतिशतभन्दा तल आइसकेको छ। सीडी रेसियो पनि ८२ प्रतिशतभन्दा तल ओर्लेको छ।

यता राष्ट्र बैंकले कर्जा बिस्तारलाई आगामी मौद्रिक नीतिमा प्राथमिकता नदिने स्पष्ट पारिसकेकाे छ। चालु वर्ष १२.६ प्रतिशत राख्दा पनि १ तीहाइ मात्र ऋण लगानी भएको केन्द्रीय बैककाे भनाइ छ।