प्रभु र महालक्ष्मी लाइफको एकीकृत कारोबार आजबाट शुरु

-



     सफल आवाज    
     असार २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ असार । प्रभु लाइफ लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आजबाट एकीकृत कारोबार शुरु गरेका छन्। दुवै कम्पनीहरुबीच १ः१ काे सेयर स्वाप अनुपातमा मर्ज भएपछि एकिकृत काराेबार शुरु गरेका हुन् ।

दुबै कम्पनीबीच मर्जर भएपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सञ्चालन गरिएकाे हाे । दुवै कम्पनीले गएकाे असार ३० गते मर्जरमा गर्नका लागि शुरुआती सम्झौता गरेका थिए भने गएकाे जेठ ३ गते मर्जरकाे अन्तिम सम्झौता गरिएकाे थियो। 

दुवै इन्स्योरेन्सले जेठ २६ मा गरेकाे साधारणसभाले मर्जरकाे विशेष प्रस्तावलालाई अनुमाेदन गरेका थियाे । मर्जरपछि बनेकाे प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराईलाई नियुक्त गरिने भएकाे छ । यसका बारेमा नेपाल बीमा प्राधिकरणले स्वीकृत पनि गरिसकेको जनाइएकाे छ। 

बीमा प्राधिकरणले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएकाे हाे । मर्जरपछि चुक्तापुँजी ४२९.६ करोड पुगेको छ। बीमा प्राधिकरणले ५०० करोड चुक्तापुँजी तोकेकोमा अब एकीकृत कारोबारपछि ९० करोड रुपैयाँबराबरकाे प्रिमियम मूल्यमा एफपीओ जारी गरिने भएकाे छ । 

दुवै कम्पनीको हिसाब लगायतका तथ्यांकीय विवरणहरुलाई एउटै प्रणालीमा राख्ने कार्यका लागि असार २९ गतेदेखि असार ३१ गतेसम्म सबै बीमा सेवा, कारोबार र अन्य सेवा बन्द रहनेछन्।