खुला सिमानाबाट हुने राजस्व छली रोक्ने विराटनगर महानगरकाे याेजनालाई उद्योगी व्यवसायीकाे समर्थन

-



     सफल आवाज    
     असार ३० गते २०८० मा प्रकाशित



विराटनगर, ३० असार। विराटनगर महानगरपालिकाले खुला सिमानाबाट हुने राजस्व छली रोक्न कडाइ गर्ने भएकाे छ । आगामी साउन १ देखि खुला सिमानाबाट राजस्व छली गरी हुने किसिमका आयातलाई कडाइ गर्ने घाेषणा गरेसगैं साे कार्यमा उद्योग संगठन मोरङले साथ दिने भएको छ।

संगठनका अध्यक्ष राकेश सुरानाले विज्ञप्ति जारी गर्दै अवैध आयातमा गरिने कडाइले स्वदेशी उद्योगलाई फाइदा पुग्ने भन्दै समर्थन र ऐक्यबद्धता प्रकट गरेकाे बताएका छन ।

अध्यक्ष सुरानाले राजस्व छली भई आउने वस्तुसँग प्रतिस्पर्धा गर्न नसकी स्वदेशी उद्योग व्यवसाय मारमा परिरहेको दाबी गरे। यस्तो अवस्थामा महानगरको उक्त प्रयासले आन्तरिक उत्पादन र कारोबारमा वृद्धि हुने विश्वास समेत प्रकट गरेका छन। विराटनगरसँग जोडिएको जोगबनी भन्सारसहित मोरङ र सुनसरीकाे ६३ किलोमिटर लामो खुला सिमाना रहेकाे बताइएकाे छ।

अध्यक्ष सुरानाले गैरकानुनी रूपमा हुने आयातका कारण स्वदेशी उद्योग व्यवसाय धराशायी बन्दै गएको अवस्थामा महानगरको प्रयासले स्वदेशी व्यापार व्यवसायको विस्तार र कारोबारमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन।

उनले विराटनगरको बजारलाई गुल्जार बनाउँदै यहाँको औद्योगिक पहिचानलाई अक्षुण्ण राख्न महानगरपालिकाले गरेको प्रयास प्रशंसनीय भएको समेत बताए।