कामना सेवा बैंकद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक कोन हस्तान्तरण

-



     सफल आवाज    
     श्रावण ५ गते २०८० मा प्रकाशित



काठमाण्डाै, ५ साउन । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी महानिरिक्षक पोषराज पोखरेललाई २०० थान ट्राफिक कोन र १०० थान सोमा जडान हुने रड हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा वोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाज निर्माणमा योगदान पुर्याउने महत्वपूर्ण भुमिकामा रहेको कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गर्न पाँउदा गौरवान्वित महशुस भएकाे बताए । उक्त ट्राफिक कोनहरुले काठमाडौं महानगरको ट्राफिक व्यवस्थापन र नियन्त्रणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको समेत थकालीले वताए । आगामी दिनहरुमा पनि यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

ट्राफिक कार्यालयका प्रमुख नायव प्रहरी महानिरिक्षक पोषराज पोखरेलले ट्राफिक कोन ट्राफिक अनुशासन र सभ्यता सिकाउने महत्वपूर्ण साधन भएकोले बैंकले जनसरोकारको यस क्षेत्रमा अमूल्य योगदान गरी निकै सराहनीय कार्य गरेकोमा बैंक परिवारप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्ट, बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गाना, प्रहरी उपरिक्षक सन्तोष आचार्य लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।