
काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन् ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेको छ । पुष्पलाल स्मृति उद्यानमा नेकपा (एकीकृत समाजवादी)ले एक कार्यक्रमको आयोजना गर्ने जनाएको छ । त्यस्तै अन्य कम्युनिस्ट पार्टीहरूले पनि विभिन्न कार्यक्रम गरेर पुष्पलालको स्मृति दिवस मनाउँदैछन् ।
विसं २००६ मा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए। विसं १९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मिएका पुष्पलाल वैचारिकरूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित थिए।
जनमतका हिसाबले ठूलो हिस्सा कम्युनिस्ट र वामपन्थी भएपछि विभिन्न टुक्रामा विभक्त हुँदा उनले देखेको सपना पूरा हुन नसकेको गुनासो कायमै छ । संस्थापक महासचिव श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्ति र गरिब एवं गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्त्वपूर्ण रहेको कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको भनाइ छ ।
पुष्पलाललगायतका शीर्ष कम्युनिस्ट नेता तथा कार्यकर्ताको सपना पूरा गर्ने लक्ष्यका साथ एकीकृत कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गरिएको भए पनि त्यसले मूर्तता पाउन नसकेको र बलियो पार्टी नबन्दासम्म समाजवादको लक्ष्य पूरा हुन नसक्ने नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालको भनाइ छ ।
माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेकपालगायतले समाजवादी कार्यक्रम लागू गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा गठन गरेका छन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




