काठमाडौं महानगरले ल्यायाे कर छुटकाे याेजना, सम्पत्ति कर बुझाउदा ३० प्रतिशतसम्म छुट पाइने

-



     सफल आवाज    
     श्रावण १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ साउन । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई कर छुटकाे याेजना ल्याएको छ। महानगरमा स्थायी बसोबास भएका व्यक्तिहरूलाई नागरिकता, मतदाता परिचयपत्र वा बसाइँसराइ प्रमाणपत्रका आधारमा यो छुट दिइने बताइएकाे छ।

उपलब्ध गराइएका कर छुटका शीर्षकमा सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा अवधि तोकेर छुट सुविधा उपलब्ध गराइएको छ। छुट सुविधा वडा कार्यालयबाटै लिन सकिने महानगरका राजस्व विभागले जानकारी दिएकाे छ।

नियमित कर दाखिला गर्ने सम्पत्ति कर र व्यवसाय बहाल करदातालाई २०८० पुस मसान्तसम्म उल्लेखित शीर्षकमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

एक वडा एक नमूना उद्यम कार्यक्रमअन्तर्गत सञ्चालित उद्योग वा व्यवसायको दर्ता भएको ३ वर्षसम्म निजले तिर्न बुझाउनुपर्ने व्यवसाय कर र शुल्कको १५ प्रतिशत छुट हुने व्यवस्था गरेकाे जनाइएकाे छ।

महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा लिजमा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेका करदातालाई बक्यौतासहितको सम्पत्ति करमा ३० प्रतिशतसम्म छुट दिने भएकाे छ। यो सुविधा पुस मसान्तसम्मको लागि मात्र रहेकाे काठमाडौं महानगरपालिकाले बताएकाे छ।