बजार अनुगमनका लागि जनशक्ति पर्याप्त भएन : वाणिज्य विभाग

-



     सफल आवाज    
     श्रावण १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ साउन । बजार अनुगमनका लागि कर्मचारी अभाव भएको गुनासो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको छ ।

विभागमा आज आयोजित भेटघाटका क्रमका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले विभागको दैनिक कार्य सञ्चालनकै लागि कर्मचारी अभाव रहेको र बजार अनुगमनको कामसमेत प्रभावकारी हुन नसकेको बताए।

“विभागका कार्यलयभित्रकै काम गर्नका लागि पर्याप्त कर्मचारी छैनन् । सूचना प्रविधि (आइटी) शाखामा अहिले कर्मचारी नै छैनन् । बजार अनुगमनमा खटिने कर्मचारीको पनि अभाव छ”, उनले भने, “अब चाँडबाड नजिकिँदै गर्दा बजार अनुगमन बढाउनुपर्ने भएकाले हामीले कम्तीमा एक जना उपसचिव र १० जना शाखा अधिकृतसहितको टोली माग गरेका छौँ ।”

त्यस्तै अहिले स्थानीय तहलाई नै बजार अनुमगनको अधिकार भएकाले सम्बन्धित क्षेत्रभित्र पालिकाबाटै बजार अनुगमन हुनु जरुरी रहेको उनको भनाइ छ । विभागले आजै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै सबै स्थानीय तहलाई बजार अनुगमनका काममा गम्भीर हुन भनेको छ ।

पछिल्लो समय चामलमा भइरहेको मूल्यवृद्धिबारे स्थानीय तहले अनुगमन बढाउन आवश्यक रहेको विभागको भनाइ छ । “हाल भारतबाट चामल निर्यातमा प्रतिबन्ध लगाइएको भन्ने बहानामा विभिन्न स्थानमा चामल आदि खाद्यान्न वस्तुको मूल्यवृद्धि भएको भनि समाचार एवं गुनासो प्राप्त भइरहेको छ ।

निकट भविष्यमा चाडबाड नजिकिइरहेका बेला स्थानीय तहबाट पनि बजार अनुगमन गर्ने संवैधानिक एवं कानूनी व्यवस्थाअनुसार नियमित बजार अनुगमनका लागि सम्पूर्ण स्थानीय तहलाई लेखिपठाइ दिनहुन सादर अनुरोध छ ।” विभागले मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ ।