ग्लोबल आइएमई र बीओके क्यापिटल गाभिएर ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार शुरु

-



     सफल आवाज    
     भाद्र ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ भदाै । ग्लोबल आइएमई क्यापिटल लिमिटेड र बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा गाभिएका छन् । यसरी मर्ज भएका दुबै कम्पनीकाे एकिकृत काराेबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट शुरु गरिएकाे छ ।

यसअघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एकापसमा गाभिएपछि २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार गर्दै आइरहेका छन् ।

दुबै कम्पनीकाे एकीकृत कारोबारको सेबाेनका अध्यक्ष रमेश कुमार हमालले काठमाडौं आयाेजना गरिएकाे एक कार्यक्रममा औपचारिक रुपमा शुरु गरेका थिए ।

कार्यक्रमकाे प्रमुख अतिथि रहेका हमालले संस्थागत सुशासन तथा प्रभावकारी सेवा प्रवाह गर्न मर्चेन्ट बैंकरहरुलाई आग्रह गरे ।उनले भने, मर्चेन्ट बैंक र कम्पनीले निष्कासन र बिक्री प्रबन्धक तथा प्रत्याभूतिकर्ताको भएर काम गर्दा संस्थागत उत्तरदायित्व बहन गर्नुपर्ने बताए । उनले बजारको स्थायित्व र विकासमा मर्चेन्ट बैंकरको महत्वपूर्ण भूमिका हुने बताए ।

सेबाेन नियामकीय निकाय हाे । यसले अभिभावकीय भूमिका समेत खेल्ने काम गर्छ । मर्चेन्ट बैंकरहरु बजार बिस्तारकाे सन्दर्भमा साथै रहेकाे बताए । उनले यसका लागि नयाँ वित्तीय औजार ल्याउनु पर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नियामक निकायको निर्देशनलाइ पालना गर्दै अगाडि बढ्नु पर्ने बताए । उनले एकापसमा गाभिएपछि पूँजीका आधारमा दोस्रो ठूलो कम्पनी भएकाेले सेवाको गुणस्तरमा पनि उत्तिकै ध्यान दिन जरुरी रहेकाे बताए ।

कार्यक्रम ग्लोबल आइएमई क्यापिटलका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षतामा भएकाे थियाे ।