सरकार र शिक्षक महासङ्घबीच आज वार्ता हुने

-



     सफल आवाज    
     असाेज ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ असोज । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच हिजाे भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएपछि आज फेरि वार्ता हुने भएको छ ।

कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताए।

“सकारात्मक छलफल भएको छ । बुँदागत रुपमा छलफल भएको छ । उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर छलफल भएको छ ।

शुक्रबार बिहानसम्म टुङ्गिन्छ”, उनले भने। त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा प्रकाशशरण महत पनि वार्तामा सहभागी थिए।

शिक्षक महासङ्घ र सरकारकाबीच हिजाे बिहान पनि वार्ता भएकोमा सहमति जुट्न सकेको थिएन ।