एनआईसी एशियाकाे २६औं साधारण सभा असोज २८ मा हुने, ३० प्रतिशत लाभांश दिने तयारी

-



     सफल आवाज    
     असाेज ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ असोज । एन आई सी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा असोज २८ गते हुने भएको छ । उक्त साधारण सभामा बैंकको गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षक प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी पारित गर्ने बताइएकाे छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर र १.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) समेत वितरण गर्न स्वीकृत गर्ने जनाइएकाे छ ।

एन आई सी एशिया बैंक देशभर सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल हुने बैकका रूपमा चिनिन्छ। बैंककाे हाल मुलुकभर ३६० शाखा कार्यालयहरू, ६१३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल रहेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको बैककाे दाबी छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको बताइएकाे छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा याे बैकले शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।