
कास्की, १५ असोज । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा महानगरपालिकाले महानगरका दुई ज्येष्ठ नागरिकलाई ‘महानगर माता’ र ‘महानगर पिता’को उपाधिबाट सम्मान गरेको छ । महानगरले वडा नं ७ की एक सय पाँच वर्षीय इन्द्रकला गौतमलाई महानगर माता र वडा नं २६ का एक सय तीन वर्षीय प्रजापति पोखरेललाई महानगर पिताबाट सम्मान गरेको हो ।
गौतमलाई उपप्रमुख मञ्जुदेवी गुरुङ र वडा नं ७ का अध्यक्ष राममोहन आचार्यले सम्मान गरे। त्यसैगरी पोखरेललाई सोही वडाका वडाध्यक्ष नरेन्द्र थापाले सम्मान प्रदान गरे। दुवै जनालाई महानगरले जनही रु १५ हजार नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । गौतम र पोखरेल यस वर्ष महानगरको सबैभन्दा बढी उमेरका ज्येष्ठ नागरिक हुन्।
महानगरपालिकाले प्रत्येक वर्ष ज्येष्ठ नगरवासीमध्ये दुई जनालाई महानगर माता पिता घोषणासहित सम्मान गर्दै आएको छ । कार्यक्रममा उपप्रमुख गुरुङले महानगरका ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताइन । उनले ज्येष्ठ नागरिक जिउँदो इतिहास भएको बताउँदै भनिन्, “ज्येष्ठ नागरिक हाम्रा भगवान् हुन् । त्यसैले उहाँहरूको सम्मान गर्नुपर्छ ।” ज्येष्ठ नागरिकलाई माया, सद्भाव र सम्मान गनुपर्छ भन्ने उद्देश्यले महानगरले माता पिता सम्मान कार्यक्रम ल्याएको उपप्रमुखले बताइन।
उनले पाका उमेरका नागरिकका ज्ञान, सीप र क्षमतालाई नयाँ पुस्ताले अनुसरण गर्नुपर्नेमा जोड दिइन। यसैगरी महानगर पिताको सम्मान प्रदान गर्दै पोखरा—२६ का वडाध्यक्ष थापाले ज्येष्ठ नागरिकका ज्ञान र सीपलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए। उनले भने, “स्वस्थ जीवन शैली, खानपान, रहनसहनले शताब्दीसम्म स्वस्थ भएर बाँच्ने सकिने सन्देश सम्मानित व्यक्ति पोखरेलबाट प्राप्त भएको छ ।”
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले महानगरले वार्षिकरूपमा नगरपिता र नगरमाताका रूपमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको बताइन। यसपटक ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर महानगरपिता र मातालाई सम्मान गरिएको बताइन।
कार्यक्रममा सम्मानित पोखरेलले महानगरपालिकाबाट प्राप्त नगद रु १५ हजारमा रु पाँच हजार एक सय चार थप गरी वडाको सक्नेरीमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्रदान गरे। महानगरपिताका रूपमा सम्मानित पोखरेलका चार छोरा र तीन छोरीबाट समेत गरी ५२ सन्तान रहेका छन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




