
काठमाडौं, १८ असोज। सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर १.९ प्रतिशतमा खुम्चिने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो ।
नेपालले सन् २०२४ मा तीन दशमलव नौ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । यस वर्ष न्यून आर्थिक वृद्धिदर (१.९ प्रतिशत), बढ्दो चालू खाता घाटा र मुद्रास्फीतिलाई विश्व बैंकले चुनौतीका रुपमा देखाएको छ । यस वर्ष जिडिपी तुलनामा चालु खाता घाटा छ दशमलव एक प्रतिशत हाराहारी पुग्ने र वार्षिक औसत मुद्रास्फीति सात दशमलव आठ प्रतिशत रहने अनुमान गरिएको छ ।
नेपालले आउँदा दुई वर्ष चर्को मुद्रास्फीति खेप्ने विश्व बैंकको प्रक्षेपण छ । मुद्रास्फीति सन् २०२४ मा साढे सात प्रतिशत र सन् २०२५ मा छ दशमलव चार प्रतिशत रहने प्रक्षेपण गरिएको छ । सन् २०२० मा कोभिड–१९ महामारीका कारण नेपालको आर्थिक वृद्धिदर नकारात्मक गएको थियो ।
त्यसयताको सबैभन्दा खराब अवस्था नेपालले यस वर्ष भोगेको छ । नेपालको यस वर्षको आर्थिक वृद्धिदर पछिल्लो एकदशकयताको औसत आर्थिक वृद्धिदरभन्दा न्यून हो । नेपालले अवलम्बन गरेको कसिलो मौद्रिक नीति र आयातमा गरिएको कडाइका कारण आर्थिक वृद्धिदरमा सङ्कुचन देखिएको विश्व बैंकले जनाएको छ ।
विद्युत् उत्पादनका क्षेत्रमा राम्रो प्रगति देखिएकाले त्यसको सकारात्मक प्रभाव औद्योगिक क्षेत्रमा देखिएको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । कर्जाको माग बढ्न नसक्नु र समग्र बजार माग खुम्चिँदा निजी क्षेत्रको लगानी बढ्न नसकेको प्रतिवेदनमा जनाइएको छ ।
त्यस्तै पशु चौपायामा देखिएको लम्पी स्कीन रोग र सिँचाइ अभावका कारण धान उत्पादनमा कमी आउँदा समग्र कृषि क्षेत्रको वृद्धिदरमा सङ्कुचन आउनसक्ने अनुमान विश्व बैंकको छ । सन् २०२५ सम्ममा नेपालको चालू खाता घाटा जिडिपीको तुलनामा तीन दशमलव सात प्रतिशत पुग्ने अनुमान गरिएको छ । त्यस्तै नेपालको जिडिपी अनुपातमा बढ्दो सार्वजनिक ऋण र त्यसको साँवाब्याज भुक्तानी गर्दा बजेट खर्चमा देखिने दायित्वको अंश बढ्ने देखिएको छ ।
केही दिनअघिमात्र एशियाली विकास बैंक (एडिबी) ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको थियो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




