राजधानी हराएको शहरको यात्रा

-



     बोधराज रेग्मी     
     असाेज २० गते २०८० मा प्रकाशित



काठमाडाैं, २० असाेज । त्यसो त हामी घुम्ने मात्रै शिलशिलामा थिएनौं । खातका खात समस्याहरु बोकेर ल्याउनुपर्ने जिम्मेवारी थियो । जिम्मेवारीको भारी बोकेकी थिईन् रास्वपाका सांसद तथा पुर्व स्वास्थ्य राज्यमन्त्री माननीय डा. तोसिमा कार्कीले । उनकाे भारी हलुका बनाउन खोज्ने हामी तीन जना थियौँ , माननीयकै स्वकीय सचिव रिता थापा , युवा नेता जगदीश खरेल र म ।

२०८० असोज ३ गते रास्वपा नेता तथा कमेडि च्याम्पियन सिजन एकका विजेता हिमेश पन्तले विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान गेटमा लगेर छोडिदिए। केही समयमा सबै साथीहरू भेट भयौं र लाग्यौं विमान तर्फ । एअरपोर्ट पुगेपछि भेटिए रास्वपा सुदुरपश्चिम काठमाडौं सम्पर्क मन्चका सभापति यज्ञराज जोशी । बोडिङ पास लिएर भित्र पुग्दा अर्का २ माननीय सुमना श्रेष्ठ र अशोक चौधरी साथै सहमहामन्त्री कबिन्द्र वुर्लाकोटी भेटिए । कबिन्द्र प्याट्टै बोलिहाले – तपाईंहरु आउनुहुन्छ भन्ने थाहा थियो । ए हो सर ? मैले उनले सुन्ने गरि भनेँ , अनि मनमनै लाग्याे, ठूला मान्छेलाई सबै कुरा थाहा हुनुपर्छ ।

उनले थपे – तोसिमा जि ले भन्नुभएको थियो । बुद्ध एअरको सिटमा पेटी बाँधेर बसेको ठ्याक्कै एक घण्टा १२ मिनेटमा उड्यो प्लेन धनगढी तर्फ र उडेको एक घण्टा १० मिनेटमा धनगढी विमानस्थलमा ल्यान्ड भयो ।  आन्तरिक उडानमा प्लेनभित्र २ घण्टा २२ मिनेट पेटी बाँधेर बसेको मेरो पहिलो अनुभव थियो । अरुको के अनुभव थियो सोधिन मैले । खेतकै विचमा ल्यान्ड भयो क्या हो ? आफैसंग प्रश्न गरेँ, अरुले सुन्ने गरि प्रश्न गरेको भए के जवाफ आउँथ्यो कुन्नि ।

धनगढी विमानस्थल बजार क्षेत्रबाट अलि टाढा लाग्यो मलाई र सम्झिएँ ल्याण्ड हुनै लाग्दा एअरहोस्टेजले भनेकी थिइन् – बाहिरको तापक्रम ३३ डिग्री सेल्सियस् छ भनेर । बाहिर निस्केको करिब १ मिनेटमै पसिना त अनुहार नाघिसकेर छातिसम्मै पुगिसकेछ । मेरो मात्रै होइन अरुहरुको पनि । हेर्न हुन्थ्यो या हुन्थेन थाहा भएन तर हेरियो एकछिन ।

स्वागतमा धेरै रास्वपाकै साथीहरू अविर र खादा लिएर बसेका थिए । यिनिहरुले पार्टी सभापतिको कुरा सुन्दैनन् कि मान्दैनन् ? खादामाला अबिर नलाउने भन्या ! साथी जगदीशलाई खुस्स सोधेँ ? उनले खिस्स हाँसेर अँ तनि को भावमा मुन्टो मात्रै हल्लाए ।

विमानस्थलबाट माननीय सुमना श्रेष्ठ र अशोक चौधरीलाई बाईबाईको हात हल्लाएर  खाना खान पुगियो शहिदगेट भित्रपट्टीको एक रेस्टुरेन्टमा । बाहिर हेर्दा के गतिलो होला र यस्तो ठाउँ , जस्तो लाग्या थियो तर सिमेन्ट नपोतिएको व्लकको कोठा र टिनको छानामा एसी जडान गरेको पहिलोपटक देख्यो यी आँखाले ।

लोकल मुर्गीको लागि स्पेसल ठाउँ हो यो ,हामीलाई खाना ख्वाउन लगेका साथी ( जगदिशसँग काठमाडौंमा सँगै पढेका) कविन्द्र श्रेष्ठले बताए । खाना आयो तर अलि पिरो , आखाबाटै पसिना निस्केला कि झैँ भयो तोसिमाजीको ।  पछि सागको झोलसँग मात्रै खाना खाईन् उनले । मैले मनमनै सोचेँ – अविवाहित हुन्, अलिपिरो खाना खाने घरमा परिन् भने ईन्लाई पनि गाह्रो छ । आफै पकाएर खाने ढंग छैन होला , हुन त देश बनाउन जान्नेले खाना बनाउन नजानेपनि केही फरक पर्दैन ।

त्यहाँबाट निस्केपछि हामी लाग्यौं सुदुरपश्चिममा  बन्न लागेको सबैभन्दा ठुलो अस्पताल गेटा अस्पताल । ७५ विगाहा क्षेत्रफलमा फैलिएको करिब ७ अर्ब लगानीको यो अस्पतालले क्षमता बमोजिमको सम्बन्धन् नपाएको र राजनैतिक खिचातानीले सेवा सुचारु हुन नपाएको जानकारी पाउँदा पुराना दलहरूले स्वास्थ्य सेवालाई दलदलमा फँसाएको तितो उदाहरण हाम्रो सामुन्ने ङिच्च परेर हाँसेजस्तो लाग्यो । गेटा अस्पतालका समस्याहरु केही मोबाईलमा त केही डायरीमा पोको पारेर हामी लाग्यौं डोटीतर्फ ।

कैलालीकै गोदावरी नगरपालिका नाघेर भित्तामा पुगेपछि सितल महशुस हुन थाल्यो । यात्रामा हामीसँगै थपिएका थिए सुदुरपश्चिम प्रदेश उपसभापति सृष्टि महरा , डोटी उपसंयोजक मीन सिंह धामी । देउराली डाँडामा पुगेपछि साथी जगदीश र मैले चिया पिउने बहाना बनाएर गाडी रोक्न लगायौ । खासमा बहाना चियाको थियो तर चाहना अम्मलकाे ।

चिया समय पश्चात् हामी पुगेउँ  डोटी जिल्लाको जोराएल गाउँपालिकाको बुडर भन्ने ठाउँमा । त्यहाँ पनि उस्तै तामझाम छ खादामाला अबिरको । त्यहाँका समस्या पोको पार्ने क्रममा एउटा समस्या अलि जटिल थियो – स्नातक पढाइ हुने क्याम्पसमा यही शैक्षिकसत्र देखि स्नातक तह फेजआउट ।

डोटी जिल्ला प्रवेश गरिसकेपछि सदरमुकाम पुग्न डोटी भित्रै सडक नरहेछ, डडेल्धुरा प्रवेश गर्नुपर्ने रैछ । बाटोमै भेटियो पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेर बहादुर देउवाले मतदान गर्ने पालिका , गन्यापधुरा गाउँपालिका ।  संयोग परेको थियो संविधान दिवसको । त्यहाँका रास्वपा समर्थित तथा स्थानीय क्लबका साथीहरूले सडकमै नेपालको नक्सा र नेपाली झन्डाको आकृती बनाई दिप प्रज्वलनको तयारी गरेका थिए ।

पुर्व प्रधानमन्त्रीको जिल्लामा दिप प्रज्वलनको सुरुवाती आफुबाट गरेकी डाक्टर तोसिमा कार्किको अनुहारमा अलिअलि लाज र  हिनताबोध प्रष्ट देखिन्थ्यो, कारण ५ पटक प्रधानमन्त्री भईसकेका व्यक्तिको क्षेत्र सामान्य पुर्वाधार विकासमा समेत पछाडि परेको सहजै देख्न सकिन्थ्यो ।

डडेल्धुराको गन्यापधुरा र अमरगढिलाई पछाडि पार्दै हामी अगाडि बढेउँ फेरि डोटिकै शिखर नगरपालिका । शिखर नगरपालिका पुग्दा अध्यारो भईसकेको थियो , तर हामीलाई पर्खिरहेको थियो दिपायल सिलगढी नगरपालिकाको पिपल्ला बजार अर्थात् राजधानी हराएको शहर ।

हामीलाई बस्ने भनिएको होटलमा अर्को एउटा पार्टीका नेता र कार्यकर्ता पनि छन् भन्ने सुनियो , होटल खचाखच रहेछ, त्यो रात एड्जस्ट गर्दा मेरो खाट हराएछ। राजधानी हराएको शहरमा खाट हराउनु कुन ठूलो कुरा भो र ? विस्तारा र निद्रा हराएको होइन । र म भुइँमान्छे नै हुँ ।

भोलिपल्ट विहान सुर्यले पिपल्ला बजारलाई रंगाइसकेपछि मात्रै साथीहरू रेडी भए । नास्तामा सुख्खा रोटी चियामा डुबाउँदै खाँदै गरेकी माननीय कार्की बोलिन् – आईयो डोटी , खाईयो रोटी ! त्यत्तिकैमा साथी जगदीशले प्याट्ट बोले – अबचाहीँ माननीय ज्यु हुनुहुन्छ कि अलि मोटी ! हाँसोको फोहोरा छुट्यो ।

४ गतेको हाम्रो यात्रा थियो के आई सिंह गाउँपालिका । राजपुर शहर लाई छिचोल्दै अगाडि बढे २ वटा डबल क्याप बोलेरो र केही मोटरसाईकलहरु । हाम्रो काम त उहीँ हो जनताका गुनासा पोको पार्ने । वायल बजारको छेउमै रहेको गाउँपालिका भवन पुग्यौं लगत्तै नजिकैको दुर्गामाण्डौ स्वास्थ्यचौकी ।

स्वास्थ्यचौकीको अबस्था उस्तै थियो , सरकारले निशुल्क भनेर जारी गरेका ५८ प्रकारका औषधी त्यहाँ थिएनन् । आवश्यक स्ट्रेचर समेत थिएनन् । दरबन्दीमा रहेका डाक्टर त झन् हुने कुरै भएन । स्वास्थ्यचौकी अवलोकन पश्चात् वायल बजारबाट केही पर रहेको झिमे मालिका मावि पुग्यौं । शैक्षिक  पुर्वाधार हरु करिव पुर्ण रुपमा रहेको पाईयो, ल्याव देखि सेनेटरी प्याड सम्म । राज्यले शिक्षामा गरेको लगानी अनुसार दक्ष जनशक्ति उत्पादन नहुँदा चाहिँ खल्लो महशुस हुने क्या ।

के आई सिँह गाउँपालिकाका अधिकांश युवाहरू रोजगारीका लागि भारत गएको , उब्जनीले खान नपुग्ने ,अधिकांश  महिलाहरु अशिक्षित , यस्तै यस्तै ….। फाट्टफुट्ट घरेलु उद्योग चाहिँ रहेछन् तर बजार पाउन गाह्रो । केआईसिंह गाउँपालिकाका स्थानीयसँगको भलाकुसारी पश्चात् हामी पुग्यौं जिल्लाको ठुलो अस्पताल मध्येको १ सुजङ अस्पताल । यहाँको पनि हालत उस्तै ! आवश्यकिय जनशक्ति र पुर्वाधार अभाव ।

पहिले राज्य ५ वटा विकास क्षेत्रमा विभाजित हुँदा सुदुरपश्चिमान्चल विकास क्षेत्रको सदरमुकाम थियो दिपायल । संघियता आएसँगै ७ वटा प्रदेशमा विभाजित हुँदा सुदुरपश्चिम प्रदेशको राजधानी दिपायल रहेन । यहाँ खानेपानी , प्राविधिक शिक्षा , रोजगारी, स्वास्थ्य सेवा सबै अभाव छ।

असोज ५ गते विहानै सेती नदि तरेर बायाँ तर्फ मोडियो हाम्रो बोलेरो । हरियाली छँदै थियो । केही पर पुगेपछि दायाँ तर्फ बर्सौदेखी जहाज कुरिरहेको डोटी विमानस्थल देखियो । उसको जहाज पर्खाई यस्तो लाग्थ्यो कि यतिधेरै बर्ष त प्रेमी प्रेमिकाले पनि कुर्दैनन् होला सायद । निरीह र सुनसान थियो विमानस्थल । डोटेली जनताको हवाई यात्रामा साथ दिन सक्ने विमानस्थललाई यस्तो अवस्थामा किन छाडियो? विमानस्थलले सँधै विमान कुरिरहने मात्रै हो त ? अनुत्तरित प्रश्न आफैसँग गरिरहेँ ।  उकालो चढ्दै जाँदा हामी आदर्श गाउँपालिकाको मौवा बजार पुगेउँ ।

त्यहाँका स्थानीय सँगको छलफल पश्चात् मौवानगरदह स्वास्थ्यचौकी अवलोकन गरि सायल तर्फ अगाडि बढ्यौं ।  आदर्श गाउँपालिकाको वडा नं ६ मा केही बर्ष पहिले ठुलो बाढी आएको र उक्त क्षेत्रमा अहिलेसम्म विजुली बत्तीको सुविधा नपुगेको हाम्रा आदर्श गाउँपालिकाका संयोजक नरेन्द्र भाटले बताए । हामी अझै अध्यारोमै छौं भने उज्यालो भनेको त त्यही नाईन्टी नेटवर्क मात्रै हो क्या हो?

सायल गाउँपालिकाका स्थानीयको अलि फरक गुनासो थियो । घरको मुख्य जिम्मेवार पुरुष विहानैदेखी मदिरामा लट्ठ भैदिने, पैसा गरगहना सबै चोर्ने , मदिराकै कारण केही व्यक्तिहरुको मृत्यु समेत भईसकेको । हामीले भेटेका २५ देखि ७५ बर्षसम्मका पुरुषहरुमध्ये करिब ८० प्रतिशत पुरुषको नजिक जाँदा मदिराको गन्ध आउँथ्यो ।

एकजना स्थानीय महिलाले यस्तो घटना सुनाईन् – जहाँराखेपनि श्रीमानले पैसा, गहना चोर्न थालेपछि खाना पकाउने अगेनो भन्दा तल एकहात खनेर पैसा र गहना लुकाईछन् , लुकाएको १ हप्ता पनि नपुग्दै श्रीमानले त्यो रकम चोरेर रक्सी खाईदिएछन् ।

घरेलु हिंसा अत्याधिक भएपनि पुलिसलाई उजुरी नदिने , दिईहाले फेरि मरणासन्न हुनेगरी कुटपिट सहनुपर्ने र ३००० रुपैयाँ प्रहरी कार्यालयमा बुझाउनुपर्ने भएको कारण यस्ता घटना प्रहरी सम्म नआईपुग्ने बताए ईलाका प्रहरी कार्यालयका प्रहरीले ।

आदर्श र सायल पश्चात् हामी लाग्यौं जिल्ला सदरमुकाम सिलगढी तर्फ । पहाडमा रहेको यो शहर मलाई ठ्याक्कै गोरखा बजार जस्तो लाग्यो । पिपल्ला बजारबाट जम्मा ११ किमि टाढा रहेको सदरमुकामको हावापानी विल्कुल फरक । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल , जिल्ला प्रहरी प्रमुख विष्णुहरी कोईराला लगायतसँग हामीले देखेका समस्या र समाधानका विषयमा छलफल गर्यौ साथै सदरमुकाममै रहेको जिल्ला अस्पताल अवलोकन पश्चात्  सिलगढी बजारमै बास भयो हाम्रो ।

अर्को दिन अर्थात असोज ६ गते नजिकैको शैलेश्वरी मन्दिर दर्शन पश्चात् हाम्रो यात्रा सदरमुकाम बाट पुर्वीचौकी गाउँपालिका तर्फ थियो । पुर्वीचौकी का आफ्नै समस्या थिए । ऐलानी जग्गामा बनेका संरचना ,भुकम्पमा परि ज्यान गएका परिवारहरुले उचित क्षतिपूर्ति नपाउनु , अनुदानका कुराहरुमा राजनीतिक हस्तक्षेप , शिक्षाका लागि टाढा पुग्नुपर्ने बाध्यता लगायत । माननीय डाक्टर तोसिमा कार्कीले दलित वस्तिमा पुगी पानी खाएको एउटा भिडियो भाईरल भएछ, जुन भिडियो पुर्वीचौकी गाउँपालिकाकै थियो । भन्नेले जेसुकै भनेपनि हाम्रो सोच छुवाछूतको अन्त्य हुनुपर्छ भन्ने नै हो ।

पुर्वीचौकी पछि हाम्रो छलफल डोटी उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्य हरुसँग रह्यो । त्यसपछि शिखर नगरपालिकाका केही स्थानमा स्थानीय संगको साक्षात्कार पश्चात् हामी २०७१-३-२९ मा निर्माण ठेक्का लिएको २०७४-३-२९ मा सम्पन्न भईसक्नुपर्ने शिखर नगरपालिका १० र ११ जोड्ने पुल निर्माणस्थल पुग्यौं । ९ बर्षसम्म पुल नबन्नु , निर्माण कम्पनीलाई कारबाही नहुनु , जनताले सास्ती पाईराख्नु  ।

भोट किन र के का लागि भन्ने समेत राम्रोसँग थाहा नपाएका डोटेली नागरिक १ कचौरा चाउचाउ ख्वाएको भरमा उसले भनेको चुनाव चिन्हमा भोट हाल्छन् भन्दै थिए रास्वपा डोटी जिल्ला संयोजक केशव बलाएर। जिल्लामा ४३ प्रतिशत मात्रै साक्षरता छ । त्यसमा पनि महिला जम्मा २६ प्रतिशत । राजधानी हराएको शहरका जनताका अधिकारहरु कति हराएहोलान् आजसम्म ?

यी र यस्तै डोटेली गुनासाहरु मोबाईल र डायरीमा पोको पारेर काठमाडौं फर्किँदै गर्दा माननीय डाक्टर तोसिमा कार्कीले भाबुक हुदै बोलिन- डोटीका हरेक समस्या अब म संसदमा बोल्नेछु र समाधानको बाटो खोल्नेछु ।

( लेखक रेग्मी रास्वपाका नेता हुन। )