एनआरएनए निर्बाचन : आफै आधिकारिक भएकाे दाबि गर्दै आरके पक्षद्वारा नयाँ कार्यसमिति घोषणा

-



     सफल आवाज    
     कार्तिक ५ गते २०८० मा प्रकाशित



काठमाडाैं, ५ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) काे बिहिबार काठमाडाैंमा सम्पन्न निर्वाचनमा डा बद्री केसीको अध्यक्षतामा कमिटि गठन गरिएकाे घाेषणा गरिए पनि अर्काे एक पक्षले आफ्रनाे समूह विजयी भएकाे भन्दै कार्यसमिति घाेषणा गरेकाे छ । निर्वाचनमा धाँधली भएको भन्दै प्रतिस्पर्धामा रहेका अन्य पक्षले पुनः निर्वाचनको माग गरेका थिए । 

अर्काे पक्षकाे भेलाले एनआरएनएकाे अध्यक्षमा राजेन्द्रकुमार (आरके) शर्मालाई विजयी भएको बताएकाे छ । साथै शर्माकाे नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएकाे छ । उनीहरूले काठमाडौंमा सम्पन्न ११ औँ महाधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरेकाे बताएका छन् ।

शर्मा समूले डा बद्री केसीकाे नेतृत्व रहेकाे समितिलाई अवैध ठहर गर्दै शर्माको नेतृत्वमा नयाँ कमिटी घोषणा गरिएको जनाइएकाे हाे । याे समूहले यही समिति नै आधिकारिक भएको दाबि गरेकाे छ।

यसअघि डा केसी नेृतृत्वको एनआरएनएको नयाँ कार्यसमितिले शनिबार कार्यभार सम्हालेको जनाएकाे थियो। साे अवसरमा बसेकाे पहिलो बैठकले सूचना प्रविधिका बारेमा अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचनकाे बारेमा रहेकाे विवादकाे अडिट गराएर निस्किने प्रतिवेदनलाई स्वीकार गर्ने निर्णय गरेकाे थियाे । शर्मा र महेश श्रेष्ठाे समूहले सहमति तोडिएको जनाउदै नयाँ कार्यसमिति घोषणा गरेकाे बताएका छन् ।

शर्मा पक्षले घाेषणा गरेकाे नयाँ कार्यसमितिमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्षमा चयन भएकाे बताइएकाे छ । महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिदलाइ राखिएकाे छ ।

महासचिवमा बुद्धी सागर सुवेदी तथा उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला रहेका छन्। सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला रहेका जनाइएकाे छ । कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना र सह कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना रहेका छन्।

महिला सचिवमा विमला सापकोटा, सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी र महिला संयोजकमा देवीका केसी गुरुङ रहेकी छन्।

अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठ पक्षले शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरेर ११ औँ महाधिवेशनबाट चयन भएकाे डा केसीकाे नेतृत्वप्रति असन्तुष्ट जाहेर गर्दै उनकाे नेतृत्वलाइ अस्वीकार गरे ।