बैंक तथा बित्तीय संस्थाहरूले यसकारण घटाए निक्षेपको ब्याजदर

-



     सफल आवाज    
     पौष १ गते २०८० मा प्रकाशित



काठमाडौं,१ पुस। नेपालका अधिकांश बाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएकाे सुचना प्रकाशित गरेका छन । अाज पुस १ गतेदेखि लागू हुने गरी बैंकहरुले बचतकाे ब्याजदर घटाएका हुन्। यता प्रभु बैक र सानिमा बैंकले भने निक्षेपको ब्याजदर घटाएका छैनन।

अहिले बैकहरूमा अत्यधिक बचत रहेकाे र साे अनुपातमा कर्जा लगानी गर्न असहज भएकाेले बाध्य भएर ब्याज खर्च घटाउन बैकहरूले बचतकाे ब्याज घटाएकाे बैकरहरूकाे भनाइ छ।

नेपाल राष्ट्र बैंकले एक पटकमा बढीमा १० प्रतिशतले ब्याज घटाउन वा बढाउन पाइने व्यवस्था गरेकोले बैकहरूले थप ब्याज घटाउन नसकेका हुन्। अन्यथा बैकहरू अझै ब्याजदर घटाउने तयारीमा थिए ।

गत मंसिर महिनामा अधिकांश बैंकको निक्षेपको ब्याजदर सिंगल डिजिटमा झरिसकेकाे थियो। अहिले पुसमा भने प्राइम कमर्सियल बैंकबाहेक सबैले एकल अंकमा ल्याएका छन ।

यता प्राय: सबै डेभलपमेन्ट बैंक र फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याजदर घटाएका छन्। उनीहरूले पुस १ गतेबाट लागू हुनेगरी निक्षेपको ब्याजदर घटाएकाे सुचना शनिबार प्रकाशित गरि सकेका छन ।

निक्षेपको ब्याज घटेपछि अब ऋणको ब्याजदर पनि घट्ने बैकरहरू बताउछन। बैंकहरुले मुद्दतीसँगै बचत र कल एकाउन्टको पनि ब्याज घटाएका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल वाणिज्य बैंकहरुको ऋणको औसत ब्याजदर ११.९६ प्रतिशत छ। विकास बैंकहरुको १३.७ र फाइनान्स कम्पनीको १४.४८ प्रतिशत रहेकाे बताइएकाे छ।