‘ब्याट’ फिर्ता लिन पीटीआई उच्च अदालत जाने

-



     सफल आवाज    
     पौष ८ गते २०८० मा प्रकाशित



इस्लामावाद, ८ पुस । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले पार्टीको चुनाव चिन्ह क्रिकेटको ‘ब्याट’ हटाउने निर्णयविरुद्ध पेशावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने बताएको छ । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष ब्यारिस्टर गोहर अली खानले शनिबार उक्त घोषणा गरे।

निर्वाचन आयोगले आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनका लागि पीटीआईलाई चुनाब चिन्ह ‘ब्याट’ कायम राख्न नदिने निर्णय गरेको छ । पेशावर उच्च अदालतले निर्वाचन आयोगलाई ‘कानुनअनुसार’ शुक्रबारसम्ममा पीटीआईको अन्तरपार्टी निर्वाचन र चुनाव चिह्नबारे निर्णय गर्न निर्देशन दिएको एक दिनपछि निर्वाचन आयोगको फैसला सुनाइएको हो ।

जियो न्यूजका अनुसार गोहरले अडियाला जेलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ‘ब्याट’ चिन्ह पुनः प्राप्त गर्न पीटीआईको निवेदन मङ्गलबार कार्यालय समयको पहिलो प्रहरमा नै दायर गरिनेछ । निर्वाचन आयोगको नाम नलिइकन पीटीआईका नेताले सबै षड्यन्त्र आफ्नो पार्टीलाई २२७ आरक्षित सिटबाट बञ्चित गर्ने उद्देश्यले गरिएको बताए।