दक्षिण कोरियाद्वारा उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि प्रतिबन्ध

-



     सफल आवाज    
     पौष ११ गते २०८० मा प्रकाशित



सोल, ११ पुस । प्योङयाङले हालै अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि दक्षिण कोरियाले अवैध साइबर गतिविधिलाई लिएर उत्तर कोरियाको गुप्तचर निकायका प्रमुखमाथि प्रतिबन्ध लगाएको सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ ।

प्योङयाङ उसको आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि पहिलेदेखि नै अन्तर्राष्ट्रिय दबाबमा छ । उत्तर कोरियाली नेता किम जोङको नेतृत्वमा आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रममा प्योङयाङले तीव्र गतिमा प्रगति गरेको छ ।

सोल, टोक्यो र वासिङ्टनले उत्तर कोरियाको साइबर अपराध, क्रिप्टोकरेन्सी र मनी लन्ड्रिङ गतिविधिलाई सम्बोधन गर्न उपायहरू समावेश गर्ने तीनतर्फी पहल सुरु गरेको सातापछि यस्तो घोषणा आएको हो । साइबर अपराध, क्रिप्टोकरेन्सी र मनी लन्ड्रिङबाट उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र कार्यक्रमहरूमा कोष उपलब्ध गराउने विश्वास गरिन्छ ।

सोलस्थित विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “प्योङयाङको जासुसी जनरल ब्युरोका प्रमुख री चाङ होमाथि ‘अवैध साइबर गतिविधि र प्रविधि चोरीमार्फत विदेशी मुद्रा आर्जन’ मा संलग्नता भएकामा प्रतिबन्ध लगाइएको छ ।” उनको गतिविधिले ‘उत्तर कोरियाली शासनका लागि राजस्व उत्पन्न गरेको र उसको आणविक तथा क्षेप्यास्त्र गतिविधिका लागि पैसा जुटाउन’ योगदान पुगेको विज्ञप्तिमा उल्लेख छ ।

रीलाई उत्तर कोरियाली ह्याकिङ समूह किमसुकी, लाजरस र एन्डारियलको मूल सङ्गठनका प्रमुख भएको विश्वास गरिन्छ । ती समूहमाथि सोलले पहिलादेखि नै प्रतिबन्ध लगाएको छ ।