पोखरा फाइनान्सको २७औं वार्षिक साधारण सभा सम्पन्न

-



     सफल आवाज    
     पौष २९ गते २०८० मा प्रकाशित



पोखरा, २९ पुस । पोखरा फाइनान्स लिमिटेडले आफ्नो २७ औं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । पोखरा ९ स्थित दरबारथोक बैक्वेट, बाँस्तोलाथरमा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक, शेयरधनी तथा कर्मचारीहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आ.व. २०७९-८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका विवरणहरु सहित अन्य प्रस्तावहरु छलफल गरी पारित भएकाे बताइएकाे छ।

आजै सम्पन्न साधारण सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट निर्विरोध रुपमा निर्वाचित भएका नवनियुक्त सञ्चालकहरु क्रमशः कृष्ण बहादुर गुरुङ, अच्युत पौडेल र गंगा घलेलाई संस्थाका अध्यक्ष राजकुमार गुरुङले सञ्चालकको पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

सभामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले आगामी दिनहरुमा वित्तीय संस्थाले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बताए।

यसैगरी वित्तीय संस्थाका अध्यक्ष राजकुमार गुरुङले वित्तीय संस्थाको उत्तरोत्तर विकास, प्रगति र सफलताको यात्रामा निरन्तर राय सुझाव दिनुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै सभा समापन गरेका थिए ।

वित्तीय संस्थाका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाकाे कार्यक्रम सञ्चालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले गरेका थिए।