इराकस्थित अमेरिकी नेतृत्वको गठबन्धन शिविरमा आक्रमण

-



     सफल आवाज    
     माघ ७ गते २०८० मा प्रकाशित



वासिङ्टन, ७ माघ । इरान समर्थित लडाकू समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको नेतृत्वमा रहेको सैन्य शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक इराकी र केही अमेरिकी हताहत भएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।

पश्चिमी इराकमा इरान समर्थित लडाकूले अल असद शिविरलाई लक्षित गरी धेरै ब्यालेस्टिक क्षेप्यास्त्र र रकेट प्रहार गरेका सेन्टकमले उल्लेख गरेको छ । अधिकांश क्षेप्यास्त्रहरू शिविरको हवाई प्रतिरक्षा प्रणालीले रोकेको थियो तर ‘अन्य केही शिविरमा खस्दा’ केही अमेरिकी ‘कर्मचारी’ लाई चोट लागेको बताइएको छ ।

अमेरिकी केन्द्रीय कमाण्डद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “धेरै अमेरिकी कर्मचारीहरूलाई चोटपटक लागेको हुनसक्ने अनुमानपछि उनीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ । घटनामा कम्तीमा एक जना इराकी सैनिक घाइते भएका छन् ।” गत अक्टोबरको मध्यदेखि इराक र सिरियामा इस्लामिक स्टेट समूहका जिहादीविरुद्ध लड्न तैनाथ अमेरिकी तथा गठबन्धन सेनामाथि दर्जनौं आक्रमण भएका छन् ।

गाजा द्वन्द्वमा इजरायललाई अमेरिकी समर्थनको विरोध गर्ने इरानसम्बद्ध सशस्त्र समूहहरूको खुला गठबन्धन ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ ले अधिकांशको दाबी गरेको छ । उक्त समूहले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो आक्रमण गरेको जनाएको छ । ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोगले इराक र सिरियामा अमेरिकी सेनामाथिको आक्रमणमा वृद्धि भएको सङ्केत गरेको छ, जसलाई पहिले कम प्रविधिको रकेट र ड्रोनले निशाना बनाइएको थियो ।