
इस्लामावाद, ४ चैत । पाकिस्तानका पूर्व प्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ला अदालतले खारेज गरेको छ ।
जुलाई २०१४ मा चौधरीले इमरान खानलाई सन् २०१३ को आम चुनावमा धाँधली गरेको र उहाँद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाउँदै २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित मानहानिको सूचना जारी गरेका थिए ।
खानले आफ्नो भनाइका लागि माफी नमागे कानुनी प्रक्रिया सुरु गर्ने चेतावनी उक्त सूचनापछि चौधरीको कानुनी टोलीले दिएको थियो । चौधरीले जनवरी २०१५ मा औपचारिक रूपमा मुद्दा दर्ता गरेका थिए। मुद्दामा पाकिस्तानका पूर्व प्रधान न्यायाधीशले २७ जुन २०१४ मा इमरान खानद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाएका थिए ।
द एक्सप्रेस ट्रिब्यूनको रिपोर्टअनुसार लामो प्रक्रियापछि अदालतले इमरान खानको पक्षमा फैसला सुनाएको छ र चौधरीद्वारा दायर गरिएको मुद्दा खारेज गर्दै मानहानिको सूचना हद नागेपछि जारी गरिएको बताएको छ । न्यायाधीश हसिना सकलैनले आफ्नो फैसलामा भन्नुभएको छ, “मुद्दाअनुसार अन्तिम कथित मानहानिपूर्ण बयान सन् २०१४ जुन २७ मा गरिएको थियो र मुद्दा सन् २०१५ को जनवरी २० मा दायर गरिएको थियो ।
मुद्दा दायर गर्दा छ महिना २४ दिन हद नागिसकेकोले मुद्दालाई खारेज गरिएको छ ।” अदालतले मानहानिसम्बन्धी सामग्री प्रकाशित भएको मितिले छ महिनाभित्र मानहानि मुद्दा दायर गर्नुपर्ने र त्यसो गर्न नसके मानहानि अध्यादेश २००२ को दफा १२ अनुसार मुद्दा गर्न नमिल्ने उल्लेख गरेको छ ।
सन् २०२२ को अप्रिलमा अविश्वासको प्रस्तावमार्फत सत्ताच्युत भएयता पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री खानले थुप्रै कानुनी चुनौतीको सामना गर्दै आएका छन् । उनी हाल रावलपिण्डीस्थित पाकिस्तानी केन्द्रीय कारागारमा छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




