बोलिभियामा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु

-



     सफल आवाज    
     श्रावण ६ गते २०८१ मा प्रकाशित



लापाज, ६ साउन । बोलिभियाको एन्डिज क्षेत्रको राजमार्गमा शनिबार ट्रक र बसबीच टक्कर हुँदा २२ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये हालसम्म १४ जनाको मात्र पहिचान भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये एक जना चिलीका नागरिक रहेको चिलीको विदेश मन्त्रालयले बताएको छ ।

दुवै सवारीका चालकको मृत्यु भएको अधिकारीले बताएका छन् । बोलिभियाको पटाकामाया सहर र उत्तरी चिलीको टम्बो क्वेमाडो सहर जोड्ने सडकमा भएको दुर्घटनामा यस वर्षकै सबैभन्दा बढी मानवीय क्षति भएको ट्राफिक अधिकृत निलो टोरिकोले बताए।

दुई दक्षिण अमेरिकी देशहरूलाई जोड्ने व्यस्त व्यापारिक र पर्यटन मार्ग हुँदै बस चिलीतर्फ गइरहेको थियो । “प्रारम्भिक अनुसन्धानअनुसार ट्रकले बसलाई गलत लेनबाट ओभरटेक गर्न खोजेको देखाइएको छ,” ट्राफिक अधिकृत टोरिकोले भने।