इजरायली सेनाद्वारा गाजामा बन्धक बनाइएका पाँच जनाको शव फेला

-



     सफल आवाज    
     श्रावण १० गते २०८१ मा प्रकाशित



जेरुसेलम, १० साउन । इजरायली सेनाले बिहीबार अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको बताएको छ ।

सेनाले बन्धक बनाइएका माया गोरेनका साथै सैनिकहरू रविद आर्ये काट्ज, ओरेन गोल्डिन, तोमर अहिमास र किरिल ब्रोडस्कीको शव इजरायललाई फिर्ता गरिएको जनाएको छ । गाजा पट्टीको मुख्य सहर खान युनिसमा अपरेसनका क्रममा ती शव बुधबार बरामद गरिएको सेनाको भनाइ छ ।

सेनाले अक्टोबर ७ मा हमास लडाकूहरूले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ । डिसेम्बरमा सेनाले गोरेनको मृत्यु भएको घोषणा गरेको थियो । उनलाई अक्टोबर ७ मा अपहरण गरी गाजा लगिएको थियो । दुई इजरायली किबुत्ज, निर ओज र निर यित्ज्याकको फरक फरक बयानमा सेनाले गोरेन र गोल्डिनको शव बरामद गरिएको बताएपछि बिहीबार उक्त घोषणा आएको हो ।

किबुत्ज निर ओजले भने, “हिजो राति सेनाको उद्धार कार्यमा दिवङ्गत माया गोरेनको शव फेला परेको हामीलाई सूचित गरिएको थियो ।” उहाँले गोरेनको परिवारलाई सूचित गरिएको र थप जानकारी दिइने बताए । पछि अर्को छुट्टै बयानमा किबुत्ज निर यित्ज्याकले सेनाले गोल्डिनको शव फिर्ता गरेको बताए। “आज साँझ किबुत्ज आपत्कालीन टिमका सदस्य दिवङ्गत ओरेन गोल्डिनको उद्धार कार्यबारे हामीलाई सूचित गरिएको थियो, उनी अक्टोबर ७ मा हमास लडाकूहरूको आक्रमणमा मारिएका थिए ।”