कम्बोडियाली विपक्षी नेतालाई १५ लाख डलर जरिवाना

-



     सफल आवाज    
     श्रावण १० गते २०८१ मा प्रकाशित



नोम पेन, १० साउन । कम्बोडियाको एक अदालतले सत्तारुढ दललाई बदनाम गरेको आरोपमा बिहीबार त्यहाँका विपक्षी नेतालाई करिब १५ लाख अमेरिकी डलर जरिवाना गरेको छ ।

गत फेब्रुअरीमा विदेशी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा क्यान्डललाइट पार्टीका नेता टिभ भ्यानोलले हुन मानेटको शासनकालमा राज्य ‘लोकतन्त्रको हिसाबले खराब हुँदै गएको’ बताएका थिए। हुन मानेटले सन् २०२३ मा आफ्ना पिता हुन सेनको करिब चार दशक लामो शासनपछि सत्ता सम्हालेका थिए।

हुन मानेटलाई प्रधानमन्त्री बनाउनका लागि कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले पार्टीमा दिएको भारी समर्थन र मुख्य प्रतिद्वन्द्वी क्यान्डललाइट पार्टीलाई संसदीय निर्वाचनमा सहभागी हुनबाट रोक्ने प्रक्रियालाई भ्यानोलले ढोङको रूपमा निन्दा गरेका थिए ।

नोमपेन म्युनिसिपल कोर्टले बिहीबार भ्यानोललाई ‘सार्वजनिक मानहानीको दोषी’ ठहर गर्दै वादी सीपीपीलाई छ अर्ब रियल (करिब १५ लाख अमेरिकी डलर) तिर्न आदेश दिएको छ । उनलाई एक करोड मिलियन रियाल (दुई हजार ४०० अमेरिकी डलर) तिर्न पनि आदेश दिइएको छ ।