प्यालेस्टिनी राष्ट्रपतिले आगामी साता रुस भ्रमण गर्ने

-



     सफल आवाज    
     श्रावण २७ गते २०८१ मा प्रकाशित



मस्को, २७ साउन । प्यालेस्टिनी सरकारका राष्ट्रपति महमुद अब्बासले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग गाजा युद्धबारे छलफल गर्न आगामी साता मस्को भ्रमण गर्ने भएका छन् ।

रुसको सरकारी समाचार समिति तासले मस्कोमा रहेका प्यालेस्टिनी राजदूतलाई उद्धृत गर्दै अब्बास सोमबार मस्को आइपुग्ने र मङ्गलबार पुटिनलाई भेट्ने जानकारी गराएको छ ।

राजदूत अब्देल हाफिज नोफलले बताएअनुसार दुई नेताले अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा भएका घटनाबारे छलफल गर्ने बताए ।

“हामी जटिल अवस्था भोगिरहेका छौ र रुस हाम्रो नजिकको देश हो । हामीलाई एकअर्काको परामर्श आवश्यक छ”, राजदूत अब्देलले बताए। मस्कोले वर्षौँसम्म इजरायल र प्यालेस्टाइनसहित मध्यपूर्वका सबै प्रमुख मुलिकसँग सन्तुलन सम्बन्ध कायम राख्ने प्रयास गरिरहेको छ ।

तर इजरायल–हमास युद्ध सुरु भएपछि र युक्रेनमाथि रुसको आफ्नै दवन्द्वपछि पुटिन इजरायलको प्रतिद्वन्द्वी हमास र इरानको निकट भएका छन् ।