सुडान युद्धविराम वार्ता सहभागी हुन अमेरिकाद्वारा सरकारी सेना प्रमुखलाई दबाब

-



     सफल आवाज    
     श्रावण ३१ गते २०८१ मा प्रकाशित



जेनेभा, ३१ साउन । संयुक्त राज्य अमेरिकाले सुडानको सेनालाई युद्ध अन्त्यका लागि वार्तामा सामेल हुन आग्रह गरेको छ । स्विट्जरल्याण्डमा सुरू भएको वार्तामा सुडानमा द्वन्द्वरत अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) समूह सहभागी भएको छ ।

सन् २०२३ को अप्रिलदेखि सुडानी शासक अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच युद्ध चलिरहेको छ । बुरहान वार्ताको सुरुआतमा उपस्थित नभएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सीधै टेलिफोनमार्फत बुरहानलाई वार्तामा सहभागी हुन आग्रह गरेका थिए ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलका अनुसार ब्लिन्केनले बुरहानसँगको कुराकानीमा सहभागिताको आवश्यकता दोहो¥याएका थिए । ब्लिन्केनले दुवै पक्षले युद्ध अन्त्य गर्न र पीडित लाखौं सुडानीका लागि मानवीय पहुँचको प्रत्याभूति गर्न ‘तत्काल आवश्यकता’ रहेको बताएकाे अमेरिकी प्रवक्ता पटेलले बताए ।

सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिएलोले उद्घाटन सत्रपछि भने, “अब बन्दूक बन्द गर्ने उपयुक्त समय आएको छ ।” १० दिनसम्म चल्ने उक्त वार्ता स्विट्जरल्याण्डको अज्ञात स्थानमा बन्द कोठामा भइरहेको छ । आरएसएफको प्रतिनिधिमण्डलले वार्तामा भाग लिइरहेका बेला सुडानी सशस्त्र बल (एसएएफ) वासिङ्टनले व्यवस्था गरेको युद्धविराम ढाँचाप्रति असन्तुष्ट छ ।

सुडानी सञ्चार मन्त्री ग्राहम अब्देलकादरले वार्ताअघि वासिङ्टनले संयुक्त अरब इमिरेट्स (युएई) लाई पर्यवेक्षकका रूपमा सहभागी गराउन जोड दिएपछि सरकारले कुनै पनि नयाँ पर्यवेक्षक वा सहभागीलाई अस्वीकार गर्ने बताएका थिए । सुडानी सेनाले संयुक्त अरब इमिरेट्स (युएई) ले आरएसएफलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ ।