
बोस्टन, अमेरिका, ८ पुस । बेलायतबाट फैलिएको कोरोना भाइरसको नयाँ प्रकार धेरै मुलुकमा देखा पर्न थालेपछि विश्वभर अर्काे तनाव सुरु भएको छ । कोरोनाको खोप भर्खरै सुरु भएसँगै यो भाइरसको नयाँ प्रकारले विज्ञ एवं विश्वजगतलाई तरंगित तुल्याएको छ ।
बेलायतसँग ४० भन्दा बढी देशले यात्रा प्रतिबन्धको घोषणा गरिसकेका छन् । स्वयंम् बेलायतले समेत क्रिसमसको पूर्वसन्ध्यामा कसैलाई पनि घर बाहिर निस्कन नपाउने गरि कडाखाले लकडाउन घोषणा गरेको छ । विश्वसँगको यात्रा प्रतिबन्ध तथा मुलुकभित्रको लकडाउनले बेलायत कठिन अवस्थामा पुगेको छ ।
प्रारम्भिक अनुसन्धानले नयाँ प्रकारको भाइरस पुरानोभन्दा ७० प्रतिशत बढी सर्ने खालको पाइएको छ । विज्ञहरुका अनुसार यसको विकासक्रम पहिलेभन्दा झन् डरलाग्दो छ । बेलायतमा यो केही दिनयता अनियन्त्रित रुपमा फैलिरहेको बीबीसीले उल्लेख गरेको छ । यसै कारण क्रिसमसको पूर्वसन्ध्यामा बेलायत कडाईका साथ लकडाउनमा जान बाध्य भएको छ ।

बेलायतमा क्षेत्रका आधारमा तय गरिएको लकडाउनको प्रकार यो नक्सामा देखाइएको छ।
नयाँ प्रकारको भाइरस झन् संक्रामक रहेको र यो नियन्त्रणबाहिर जान थालेको विवरणपछि कैयन् देशहरुले बेलायतसँगको यात्रामाथि प्रतिबन्ध घोषणा गरेका हुन् । हालसम्म यात्रा प्रतिबन्ध घोषणा गर्नेहरुमा फ्रान्स, भारत, इरान, क्यानडा, जर्मनी, आयरल्यान्ड, बेल्जियम, इटली र नेदरल्यान्ड्स लगायत छन् । अमेरिकाले यात्रा प्रतिबन्धको तयारी गरे पनि निर्णय गर्न बाँकी छ।
बेलायतबाट सुरु भएको यो भाइरसको नयाँ प्रकार हालसम्म डेनमार्क, अष्ट्रेलिया, नेदरल्यान्ड्स, भारतलगायत देशमा देखा परिसकेको छ । हालै प्रयोगमा आएको खोपले नयाँ प्रकारको भाइरसलाई काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन सकिएको छैन ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नयाँ प्रकारको भाइरस पुरानोभन्दा ७० प्रतिशतसम्म बढी सर्ने खालको रहेको बताएका छन् । बेलायतका प्रमुख मेडिकल अफिसर प्राध्यापक क्रीस ह्विटीले नयाँ प्रकारको भाइरसको विकासक्रमले स्थिति झन् खराब हुने संकेत गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बेलायत कोरोनोविरुद्धको खोपलाई अनुमोदन गरि प्रयोगमा ल्याउने पहिलो मुलुक हो । दुई साताअघि फाइजरको खोप स्वीकृत गर्दै बेलायतले जेष्ठ नागरिकबाट यो खोप अभियान सुरु गरेको थियो ।
विश्व स्वास्थ्य संगठन समेत कोरोनाभाइरसको नयाँ प्रकारका कारण चिन्तित छ । यो भाइरस कत्तिको घातक छ भन्ने यकिन भने भइसकेको छैन । यद्यपी यसको फैलिने गति निकै तीब्र रहेकाले यो चिन्ताको विषय भएको संगठनले उल्लेख गरेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




