भारतीय प्रधानमन्त्री मोदी युक्रेनमा, शान्तिका दूतका रूपमा प्रस्तुत हुने

-



     सफल आवाज    
     भाद्र ७ गते २०८१ मा प्रकाशित



किएभ, ७ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोपेली दुई मुलुक पोल्याण्ड र युक्रेनको भ्रमणका शिलशिलामा शुक्रबार युक्रेनको राजधानी किएभ गइपुगेका छन् । प्रधानमन्त्री मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार किएभमा भेटवार्ता गर्ने कार्याक्रम रहेको छ ।

रूसले युक्रेनमा आक्रमण सुरू गरेको साढे दुई वर्षपछि युक्रेनले रूसी भूमिमा ठूलो प्रतिआक्रमण गरेको केही दिनपछि मोदीले आफूलाई सम्भावित शान्ति दूतका रूपमा प्रस्तुत गरिरहेका छन् ।

मोदीले आफ्नो भ्रमणअघि भनेका थिए, “युद्धभूमिमा कुनै पनि समस्याको समाधान हुन सक्दैन जतिसक्दो चाँडो शान्ति र स्थिरताको पुनस्र्थापनाका लागि भारत वार्ता र कूटनीतिक पहलको पक्षमा छ ।” उनी युक्रेनको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन्।

रूसको पश्चिमी कुस्र्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणपछि मस्को र किएभबीच कूटनीतिक सफलता पहिलेभन्दा बढी असम्भव देखिएको छ । युक्रेनका धेरैले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकै नजिकको रूपमा हेरेका मोदी स्वयं एक प्रभावकारी सम्झौताकर्ता हुन सक्नुहुन्छ वा हुँदैन स्पष्ट छैन ।

मोदीले जेलेन्स्कीसँग जारी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि दृष्टिकोण आदानप्रदान गर्नुका साथै भारत र युक्रेनबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्ने योजना रहेको बताए।