इयूद्वारा लेबनानलाई दिने सहायतामा तीन करोड युरो वृद्धि

-



     सफल आवाज    
     असाेज १७ गते २०८१ मा प्रकाशित



ब्रसेल्स, १७ असोज । युरोपेली सङ्घ (इयू) ले इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण लेबनानलाई थप तीन करोड युरो (तीन करोड ३० लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले भन्नुभयो,“हामीले लेबनानका जनताका लागि मानवीय सहायता बढाएका छौँ। “हाम्रो नयाँ कोष (सहयोग) ले यो धेरै कठिन समयमा नागरिकहरूले धेरै आवश्यक सहायता प्राप्त गर्ने सुनिश्चित गर्नेछ,” उनले भने। उनले भने, “मध्यपूर्वमा निरन्तर तनाव बढ्दै गएकोमा म निकै चिन्तित छु ।

निर्दोष नागरिकको जीवन रक्षाका लागि सबै दलले सक्दो प्रयास गर्नुपर्छ ।” युरोपेली सङ्घको पछिल्लो सहायता प्याकेज सप्ताहन्तमा घोषणा गरिएको १० मिलियन युरोभन्दा माथि रहेको छ। यससँगै लेबनानका लागि युरोपेली सङ्घको मानवीय सहायता यस वर्ष १०० मिलियन युरोभन्दा बढी पुगेको छ।