लेबनानमा इजरायली आक्रमण तीव्र,हिजबुल्लाहमाथि दया नगर्ने प्रधानमन्त्री नेतान्याहूको प्रतिज्ञा

-



     सफल आवाज    
     असाेज २९ गते २०८१ मा प्रकाशित



बेरूत, लेबनान, २९ । असोज इजरायली सेनाले मङ्गलबार पूर्वी लेबनानमा आक्रमण सुरु गरेको लेबनानको आधिकारिक सञ्चारमाध्यमले जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहप्रति कुनै दया नगर्ने वाचा गरेपछि दुई समुहबीच द्वन्द्व चर्किएको हो ।

प्रधानमन्त्रीको प्रतिज्ञा इरान समर्थित लेबनानी समूहले इजरायली आधारमा गरेको ड्रोन हमलामा चार सैनिक मारिएको एक दिनपछि आएको हो । “हामी बेरुतसहित लेबनानका सबै भागमा हिजबुल्लाहमाथि आक्रमण गर्न जारी राख्नेछौँ“, हाइफाको दक्षिणमा बिन्यामिना नजिकैको आधारको भ्रमणका क्रममा नेतान्याहूले भने ।

हिजबुल्लाहले मङ्गलबार रब त्लातिन गाउँको बाहिरी भागमा हस्तक्षेप गर्न खोजिरहेका इजरायली सेनासँग झडप भएको जानकारी गराएको छ । इजरायलले गत महिना सीमापार भूमि सेना पठाउनु अघि लेबनानमा आफ्नो बम आक्रमण बढाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार युद्धमा कम्तिमा एक हजार ३१५ जनाको मृत्यु भएको छ ।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले रिपोर्ट गरेअनुसार इजरायलले मङ्गलबार बिहान पूर्वी बेका उपत्यकामा हवाई आक्रमणलाई तीव्र गरेको हो । रेड क्रसको अन्तर्राष्ट्रिय समितिका क्षेत्रीय निर्देशक, निकोलस भोन आर्क्सले सोमबार एम्बुलेन्स र अन्य स्वास्थ्य सुविधाहरू र कर्मचारीहरूको सुरक्षाका लागि आग्रह गर्दै उनीहरूमाथि भएको आक्रमणलाई “चिन्ताजनक“ विषय रहेको बताए।