नेप्से २७४२.८८ विन्दुमा उक्लियो, साढे ५ अर्बको कारोबार

-



     सफल आवाज    
     असाेज ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० असोज । नेपाली सेयर बजार अाज पनि उकालोको यात्रामा गएको छ । असोज मसान्त बुधबारमा देखिएको नेप्सेको हरियाली बातावरणले लगानीकर्ताहरुलाई उत्साही बनाएको छ ।

केहि समय अगाडी ३० अर्बको कारोबार भएको नेप्सेमा पछिल्ला दिनहरुमा ५ अर्ब वरपरको कारोबारमा आएपछि निरासा छाएको थियो । दसै बिदा खुलेपछिको पहिलो दिनमा ३१.४८ अंकले बढेको नेप्सेमा यसदिन ४३.२२ अंकको बृद्धि भएको छ ।

यसरी बढेको नेप्से २७४२.८८ विन्दुमा उक्लिएको छ । कारोबार पनि अघिल्लो दिनको तुलनामा झण्डै दोब्बर नजिकको भएको छ । नेप्सेको हरियाली संकेतले अब सेयर बजार कार्तिकमा पनि यस्तै होस् भन्ने अपेक्षा गरिएको छ ।

नेप्सेमा १.६० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.६८ अंकले बढेर ४९३.९८ विन्दुमा उक्लिएको छ । यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ ।

कुल ३२० कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयरको कारोबारबाट ५ अर्ब ६६ करोड २ लाख ३७ हजार ७३७ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १५ करोड ९ लाख ५० हजार ३९७ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ९.३३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै अप्पर स्याँगे हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।