उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठायो–अमेरिका

-



     सफल आवाज    
     कार्तिक १३ गते २०८१ मा प्रकाशित



वासिङ्टन, १३ कात्तिक । वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएको छ । सोलले मङ्गलबार चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको छ ।

सोलले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले मस्कोलाई किएभविरुद्ध लड्न हतियार पठाएको आरोप लगाउँदै आएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि प्योङयाङले ठूलो सङ्ख्यामा सैनिक तैनाथ गर्न थालेको सोलको आरोप छ ।

उत्तर कोरियाले सैनिक पठाएको अस्वीकार गरेको छ । यद्यपि गत हप्ता सरकारी मिडियामा पहिलो टिप्पणीमा उत्तर कोरियाली उपविदेशमन्त्रीले यस्तो तैनाथी भएमा यो अन्तर्राष्ट्रिय कानून अनुरूप हुने बताए। युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले उत्तर कोरियाले ‘चाँडै’ रुसी भूमिमा १२ हजारसम्म सैनिक पठाउन सक्ने चेतावनी दिए । जबकि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस तैनाथीलाई ‘अत्यन्त खतरनाक’ भन्दै आलोचना गरे।

पेन्टागनकी उप प्रेस सचिव साब्रिना सिंहले पत्रकारहरूलाई बताएअनुसार उत्तर कोरियाले पूर्वी रुसमा तालिमका लागि कूल १० हजार सैनिक पठाएको छ र यसले सम्भवतः आगामी केही हप्तामा युक्रेन नजिक रुसी सेनालाई बढाउनेछन् ।