गरिमा विकास बैंकले “गरिमा रोड रेस कम्पिटिसन २०८१” आयोजना गर्ने

-



     सफल आवाज    
     मंसिर ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ मंसिर।  गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा यही २०८१ मंसिर ८ गते शनिवार ‘गरिमा रोड रेस कम्पिटिसन २०८१ ‘ आयोजना गर्ने भएकाे छ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको रोड रेस कम्पिटिसन -२०८१ आयोजना गर्ने बताएकाे छ । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चार वटा समुहमा प्रतिस्पर्धा हुनेछ ।

खुल्लातर्फको १० किलोमिटर  रोड रेस कम्पिटिसनमा इच्छुक व्यक्तिले सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटर रोड रेस कम्पिटिसनमा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुले मात्र सहभागिता जनाउन पाइनेछ ।

गरिमा रोड रेस कम्पिटिसन – २०८१ को महिला र पुरुषतर्फको गरी चारवटै प्रतिस्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने बैकले जनाएकाे छ ।

गरिमा रोड रेस कम्पिटिसनमा सहभागिता जनाउन इच्छुक व्यक्तिले २०८१ मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट  http://www.garimabank.com.np तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सक्नेछन । निर्धारित सहभागी संख्या पुरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ ।

२०८१ मंसिर ७ गते १८औं वार्षिकोत्सव मनाउन गईरहेको विकास बैंकले काठमाडौंमा गरिमा रोड रेस कम्पिटिसन सहित देशभरमा १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्दैछ । बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउदैं आईरहेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।