पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु

-



     सफल आवाज    
     मंसिर ४ गते २०८१ मा प्रकाशित



पेसावर(पाकिस्तान), ४ मङ्सिर । उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै एएफपीले मङ्गलबार जनाएको छ ।

खैबर–पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा “आठ सैनिक“ र “नौ आतङ्कवादी“ मारिएको एकजना गुप्तचर अधिकारीले नाम न छाप्ने सर्तमा बताएका छन् ।

पाकिस्तानी तालिबान (टिटिपी) ले यस घटनाको जिम्मेवारी लिएको छ । तालिबानले प्रान्तमा भएको छुट्टै आक्रमणमा, एउटै चौकीका “सात जना प्रहरी अधिकारीहरू अपहरण गरेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार “आक्रमणकारीहरूले अधिकारीहरूका हात हतियारहरू पनि जफत गरेका थिए । अफगानिस्तानसँगको सिमानामा टिटिपीको आक्रमण बढेको बताउदै प्रहरी अधिकारी मुहम्मद जिया उद–दिनले घटनाको पुष्टि गरे।

तालीवान समूहले अक्टोबर–२५ मा दश जना प्रहरी अधिकारीहरूको हत्या गरेको थियो । यस अघि प्रान्तीय राजधानीको रेल स्टेसनमा सोही समूहले गरेको बम विस्फोटमा–१४ जना सैनिकसहित २६ जनाको मृत्यु भएको थियो । एक हप्तापछि शनिबार पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा उनीहरुले सात जना सैनिकको हत्या गरेका थिए ।