मुम्बईको कुर्ला पश्चिममा चार जनाको मृत्यु, २५ घाइते

-



     सफल आवाज    
     मंसिर २५ गते २०८१ मा प्रकाशित



मुम्बई, २५ मङ्सिर । मुम्बईको कुर्ला पश्चिम एसजी बर्वे रोडमा सोमबार राति बसले पैदलयात्री र सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस अंधेरी तर्फ जाँदै गर्दा कुर्ला पश्चिममा दुर्घटना भएको थियो । प्रहरी उपायुक्त गणेश गावडेले पत्रकारहरूलाई भने, “कुर्लामा बेस्ट बसले नियन्त्रण गुमाएर केही सवारीलाई ठक्कर दिएको छ ।

२५ जना घाइते भएका छन् भने चार जनाको मृत्यु भएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई नियन्त्रणमा लिइएको छ । अनुसन्धान चलिरहेको छ ।” घाइतेहरूलाई कुर्लाको बीएमसीद्वारा सञ्चालित भाभा अस्पताल र सायन अस्पताललगायत नजिकका अस्पतालहरूमा लगिएको थियो ।

करिब २५ जना घाइतेलाई उपचारका लागि लगिएको भाभा अस्पतालका डा पद्मश्री अहिरेले बताउनुभयो । तीमध्ये दुई जनाको मृत्यु भएको थियो भने एकजना घाइतेको उपचारका क्रममा मृत्यु भएको थियो । यसैबीच शिवसेना विधायक दिलीप लाण्डेले ब्रेक फेल भएर दुर्घटना भएको हो । बस चालकले नियन्त्रण गुमाएर ३०–३५ जनालाई ठक्कर दिँदा आत्तिएर बस चालकले एक्लेरेटर थिचेको उनले बताए ।

“कुर्ला स्टेसनबाट छुटेको बसको ब्रेक फेल भयो र चालकले बसको नियन्त्रण गुमाए । चालक डराए र ब्रेक थिच्नुको सट्टा एक्सेलेटर थिचे र बसको गति बढ्यो, चालकले बस नियन्त्रण गर्न सकेन ।” घाइतेहरुको सायन अस्पताल, राजावाडी अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको छ,” लाण्डेले जानकारी दिए ।