अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा ४६ जनाको मृत्यु

-



     सफल आवाज    
     पौष १० गते २०८१ मा प्रकाशित



काबुल, १० पुस । अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जानकारी गराएका छन् ।

”प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने, “मङ्गलबार राति पाकिस्तानले पक्तिका प्रान्तको बरमल जिल्लामा चार स्थानमा बमबारी गरेको थियो। मृत्यु हुनेको कुल सङ्ख्या ४६ पुगेको छ । मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका छन्।” उनका अनुसार घटनामा अन्य छ जना घाइते भएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै अफगान भूमिमा पाकिस्तानले गरेको पछिल्लो आक्रमणको निन्दा गर्दै यसलाई ‘बर्बर’ र ‘स्पष्ट उत्तेजना’ भनेको छ । सरकारमा रहेका तालिवान अधिकारीहरूको नाममा जारी विज्ञप्तिमा भनिएको छ, “इस्लामिक इमिरेट्स (अफगानिस्तान)ले यो कायरतापूर्ण कार्यलाई अनुत्तरित छोड्ने छैन, अफगानिस्तान आफ्नो भूभाग र सार्वभौमिकताको रक्षालाई आफ्नो अविभाज्य अधिकार ठान्छ।”

गत मार्चमा अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा आठ जना सर्वसाधारणको मृत्यु भएको तालिवान अधिकारीले जनाएका थिए । बरमालनिवासी मलीलले एएफपीसँग कुरा गर्दै मङ्गलबारको आक्रमणमा एकै परिवारका १८ जनाको मृत्यु भएको एएफपीसँग बताए।