पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर

-



     सफल आवाज    
     पौष १८ गते २०८१ मा प्रकाशित



लाहोर (पाकिस्तान), १८ पुस । आइक्युएयरको पछिल्लो वायु गुणस्तर सूचकाङ्क (एक्युआई) को वर्गाीकरणअनुसार प्रमुख विश्वव्यापी वायु गुणस्तर अनुगमन सेवाको तथ्याङ्कका आधारमा कराची र लाहोर विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा परेका छन् । लाहोर र कराची दुवैले गम्भीर वायु प्रदूषणसँग जुझिरहेका छन् ।

यसले जनस्वास्थ्यका लागि ठूलो खतरा खडा गरेको छ । विशेष गरी लाहोरलाई विश्वको सबैभन्दा प्रदूषित सहरको रूपमा स्थान दिइएको छ । लाहोरको एक्युआई ३५४ छ । यसलाई बासिन्दाहरूका लागि ‘खतरनाक’ मानिन्छ ।

एक्सप्रेस ट्रिब्युनका अनुसार एक करोड १० लाखभन्दा बढी जनसङ्ख्या भएको यो सहर सवारी साधनको उत्सर्जन, औद्योगिक गतिविधिहरू र बाली जलाउने कार्यका कारण लामो समयदेखि खराब वायु गुणस्तरसँग जुधिरहेको छ ।

नतिजाको रूपमा विशेष गरी जाडो महिनाहरूमा जब धुवाँ सबैभन्दा तीव्र हुँदा धेरै बासिन्दाले दम र अन्य फोक्सोका रोगसहित बढ्दो श्वासप्रश्वास समस्याहरूको सामना गर्नुपरेको छ । गत महिनामा धुवाँका कारण १८ लाख ८६ हजार ५८६ जना बिरामी परेका छन् । तीमध्ये एक लाख २९ हजार २२९ ले श्वासप्रश्वासको समस्याका लागि अस्पताल उपचार खोजिरहेका छन् ।

यसैबीच, ६१ लाख १५३ व्यक्तिमा कार्डियोथोरेसिक अवस्थाहरू अवस्था निदान गरिएको छ । त्यसैगरी दैनिक ६९ हजार ३९९ भन्दा बढी बिरामी श्वासप्रश्वासको समस्या, छाती दुख्ने वा धुवाँको कारणले स्ट्रोक भएको रिपोर्ट गरिएको छ ।