
काठमाडौं, १९ पुस। वर्ष २०२४ लाई विभिन्न कारणले सम्झना गरिनेछ । यो वर्षले धेरै राम्रा कामको सुरुआत गरेको छ । कतिपय घटनाले सुखद कार्यलाई सम्झनामा सीमित गर्दै तिनलाई केवल निर्मम इतिहासमा बदलिदिएको छ । यस्ता घटना जसले सन् २०२४ मा संसार छोडेका केही महत्त्वपूर्ण व्यक्तित्वको नाम यहाँ प्रस्तुत गरिएको छ ।
जिमी कार्टर
अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा सन् २०२४ डिसेम्बर ३० मा निधन भएको छ ।
वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गरे । सबैभन्दा लामो समयसम्म बाँच्नुभएका अमेरिकी राष्ट्रपतिको जर्जियाको सानो शहर प्लेन्समा ‘होस्पिस केयर’मा प्रवेश गरेको लगभग २२ महिनापछि निधन भएको हो । प्लेन्समा उहाँ र उनकी श्रीमती रोजालिनले आफ्नो जीवनको अधिकांश समय बिताइन् ।
रोजालिनको भने सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो । कार्टर सेन्टरका संस्थापक, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आफ्नो परिवारबीच उमेरजन्य समस्याका कारण शान्तिपूर्वक निधन भएको उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्टरको निधनबाट विश्वले एक ‘असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी’ नेतृत्व गुमाएको र आफूले एक प्रिय मित्र गुमाएको बताए ।
रोग उन्मूलन, शान्ति स्थापना, नागरिक र मानव अधिकारलाई अगाडि बढाउन, विश्वभर स्वतन्त्र र निष्पक्ष चुनावलाई बढावा दिन र घरबारविहीनहरूलाई सहयोग गर्ने कामका लागि विश्वले उनलाई सम्झिरहनेछ । कार्टरले आफ्नो महत्त्वाकांक्षालाई गहिरो बुद्धि, गहिरो धार्मिक विश्वास र विलक्षण कार्य नैतिकताका साथ प्रयोग गरे। उनले आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गरे । ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गरे।
सन् १९२४ अक्टोबर १ मा जन्मनुभएका कार्टर अमेरिकी राजनीतिज्ञ, लेखक र डेमोक्रेटिक पार्टीका सदस्य थिए । उनले सन् १९७७ देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाको ३९औँ राष्ट्रपतिको रूपमा काम गरेका थिए । उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
एलेक्सी नभाल्नी
रुसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका एलेक्सी नभाल्नीको सन् २०२४ फेब्रुअरी १८ मा जेलमा निधन भएको रूसी कारागार प्रशासनले जनाएको थियो । रूसी राष्ट्रपतिका सबैभन्दा कडा आलोचक मानिएका नभाल्नीलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो।
कतिपयले उहाँलाई लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको ठानेका थिए । उहाँको मृत्यु हुनुभन्दा करिब एक वर्ष पहिले मात्रै रूसको निकै कठोर जेलमध्येको आर्कटिक पेनल कोलोनीमा सारिएको थियो । नभाल्नीको मृत्यु भएको भन्दा एक दिनअघि फेबु्रअरी १७ मा उहाँ अदालती सुनुवाइको क्रमको एक भिडिओमा देखा पर्नुभएको थियो । त्यसबेला उहाँ ठिकै देखिनुका साथै हाँसिरहेको देखिएको नभाल्नीका समर्थकहरूले दाबी गरेका छन् ।
जेल प्रशासनले नभाल्नी फेब्रुअरी १६ मा यात्राका क्रममा अचेत भएको र उपचारका लागि तत्कालै आपत्कालीन सेवालाई खबर गरिए पनि बचाउन नसकिएको बताइएको थियो । नभाल्नीलाई सन् २०२० को अगस्टमा स्नायुमा असर गर्ने नोविचोक नामक सोभियतकालीन विषाक्त पदार्थद्वारा आक्रमण गरिएको थियो ।
साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उहाँ बिरामी परेपछि जहाजले आपत्कालीन अवतरण गर्नुपरेको थियो। त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किएलगत्तै पक्राउ परेका नभाल्नी मृत्युपर्यन्त रूसी हिरासतमा हुनुहुन्थ्यो । नभाल्नीले आफूमाथि स्नायु विष हमला भएकोबारे लगाएको आरोप सही भएको केही खोज पत्रकारहरूको अनुसन्धानले देखाएको थियो ।
डा. मनमोहन सिंह
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बुढ्यौलीजन्य स्वास्थ्य समस्याका कारण सन् २०२४ डिसेम्बर २६ मा राजधानी नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो तर उपचारका क्रममा उहाँको ९२ वर्षको उमेरमा सोही दिन निधन भएको थियो । उहाँले प्रधानमन्त्रीका रूपमा सन् २००४ देखि २०१४ सम्म भारतलाई नेतृत्व दिनुभयो ।
भारतको आर्थिक सुधारका लागि विशेष योगदान दिनुभएका अर्थशास्त्री सिंहले १९९१ मा भारतको अर्थतन्त्रलाई उदारीकरण गर्न वित्तमन्त्रीको रूपमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँको कार्यकालमा भारतको आर्थिक वृद्धि उच्च भएको थियो । उहाँलाई सरल, विनम्र र प्रभावकारी नेतृत्वका लागि भारतका साथै समग्र विश्वले सम्झिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको अतीतलाई स्मरण गर्दै आफूहरूबीचको अन्तक्र्रियामा उहाँमा सधैँ ‘विवेक र नम्रता झल्किने गरेको’ बताउँदै उहाँको कार्यकालमा ‘भारतीय नागरिकको जनजीवन सुधार गर्न व्यापक प्रयासहरू’ भएको बताउनुभएको थियो ।
सीताराम यचुरी
जीवनको उत्तराद्र्धतिर श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीकोे नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका क्रममा ७२ वर्षको उमेरमा सेप्टेम्बर १२ मा निधन भएको थियो । सन् १९५२ अगस्ट १२ मा भारतको चेन्नईमा जन्मिनुभएका यचुरी भारतीय राजनीतिका प्रभावशाली नेता हुनुहुन्थ्यो । उहाँ सन् २०१५ देखि कम्युनिस्ट पार्टीको महासचिव बन्नुभएको थियो ।
विद्यार्थी कालदेखि नै राजनीतिमा प्रवेश गर्नुभएका यचुरी जवाहरलाल नेहरु विश्वविद्यालयमा भारतीय विद्यार्थी महासङ्घ (एसएफआई)का प्रभावशाली नेता हुनुहुन्थ्यो । उहाँ इन्दिरा गान्धीको शासनकालमा १९७५ देखि १९७७ सम्म लगाइएको सङ्कटकालको समयमा नागरिक अधिकार र वामपन्थी विचारधारको पक्षमा क्रियाशील हुनुहुन्थ्यो । यचुरीले सन् २००५ अगस्ट १९ देखि सन् २०१७ अगस्ट १८ सम्म भारतको माथिल्लो सदन राज्यसभाको सदस्यका रूपमा पश्चिम बङ्गालबाट प्रतिनिधित्व गर्नुभएको थियो ।
नटवर सिंह
सन् १९८४ मा पद्मभूषण प्राप्त गर्नुभएका पूर्व विदेशमन्त्री तथा वरिष्ठ कांग्रेस नेता नटवर सिंहको ९३ वर्षको उमेरमा निधन भएको छ । सन् १९५३ मा भारतीय विदेश सेवा (आइएफएस) मा आफ्नो जागिरे जीवन सुरु गर्नुभएका उहाँ सन् १९८० को दशकमा राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँले पूर्व प्रधानमन्त्री राजीव गान्धीको कार्यकालमा इस्पात, खानी, कोइला र कृषि राज्यमन्त्रीको रूपमा काम गर्नुभएको थियो ।
कूटनीति र राजनीतिमा अब्बल मानिने उहाँलाई तेलसम्बन्धी खाद्य घोटालामा उहाँको नाम आएपछि सन् २००६ मा काङ्ग्रेसले निलम्बित गरेको थियो । पछि सन् २००८ मा बहुजन समाज पार्टीमा सामेल भएपनि चार महिनापछि उहाँलाई सो पार्टीबाट पनि निष्कासित गरिएको थियो ।
रतन टाटा
रतन नवल टाटा एक भारतीय उद्योगपति र परोपकारी व्यक्तित्वको नाम हो । उहाँले सन् १९९१ देखि २०१२ सम्म टाटा समूह र टाटा सन्सको अध्यक्षको रूपमा काम गर्नुभएको थियो भने अक्टोबर २०१६ देखि फेब्रुअरी २०१७ सम्म अन्तरिम अध्यक्षको रूपमा पद सम्हाल्नुभएको थियो । सन् २००० मा उहाँले भारतको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्मभूषण प्राप्त गर्नुभएको थियो । सन् २००८ मा पद्म विभूषणसहित टाटाले आफ्नो कामको लागि धेरै प्रशंसा प्राप्त गर्नुभएको छ ।
सन् १९३७ डिसेम्बर २८ मा जन्मनुभएका उहाँको ८६ वर्षको उमेरमा सन् २०२४ अक्टोबर ९ मा निधन भएको हो । उहाँको नेतृत्वमा कम्पनीले विश्वव्यापी स्वरूप धारण गरेको थियो । उहाँको नेतृत्वमा टाटा कम्पनीले कोरस, टेटली र जगुआर ल्यान्ड रोभरजस्ता प्रतिष्ठित ब्रान्डहरू अधिग्रहण गरेको थियो । टाटाको दूरदर्शी नेतृत्व र कर्पोरेट सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताले भारतको कर्पोरेट जगत्मा सुधार ल्याएको बताउने गरिन्छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




