लस एन्जलस डढेलोः पाँच जनाको मृत्यु, १५ सय घरमा क्षति

-



     सफल आवाज    
     पौष २५ गते २०८१ मा प्रकाशित



हलिउड, संयुक्त राज्य अमेरिका, पुस २५ । अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार बताएका छन् । डढेलो सहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा एक हजार ५०० भन्दा बढी भवन जलेर नष्ट भएका छन् भने एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।

एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले आफु मातहतका कर्मचारीहरू विपत्तिको परिमाण र गतिसँग जुधिरहेको बताए। उनले भने, “हामीले सक्दो प्रयास गरिरहेका छौं तर हामीसँग लस एन्जेलसका सबै विभागहरूमा यसलाई ह्यान्डल गर्न पर्याप्त अग्नि नियन्त्रकहरू छैनन् ।”

पासाडेनाका अग्नि नियन्त्रक चाड अगस्टिनका अनुसार आगलागीका कारण ५०० भन्दा बढी भवन नष्ट भएका छन् । उनले आगलागी नियन्त्रणका लागि जुटेका अग्नि नियन्त्रकको प्रशैसा गर्दै आगलागी भीषण रहेको र नियन्त्रणमा ल्याउन निकै कठिनाइ भएको उनले बताए। अगस्टिनले पत्रकारहरूसँग भने, “उनीहरूको वीरतापूर्ण कार्यबिना आज आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या उल्लेखनीय रूपमा बढी हुने थियो।”

लस एन्जलस डिपार्टमेन्ट अफ वाटर एन्ड पावरका प्रमुख कार्यकारी जेनिस क्विनोनेसले प्यासिफिक पालिसडेसमा पानीका श्रोत (हाइड्रेन्ट) सुकेपछि पानीको जथाभावी प्रयोग नगर्न र जोगाएर नियन्त्रण गर्न आग्रह गरे।