डब्लुएचओबाट अमेरिकालाई हटाउने आदेशमा ट्रम्पको हस्ताक्षर

-



     सफल आवाज    
     माघ ८ गते २०८१ मा प्रकाशित



वासिङ्टन, ८ माघ  । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट संयुक्त राज्य अमेरिकालाई फिर्ता लैजाने निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले कोभिड–१९ महामारी व्यवस्थापनको विषयमा डब्लुएचओको पटक–पटक आलोचना गरेकन थिए ।

आफ्नो शपथग्रहणको केही घण्टापछि ह्वाइट हाउसमा बोल्दै उनले संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घको निकायलाई चीनको तुलनामा धेरै बढी भुक्तान गरिरहेको उल्लेख गर्दै भने, “विश्व स्वास्थ्यले हामीलाई ठगेको छ ।” जेनेभा–स्थित सङ्गठनको सबैभन्दा ठूलो दाता संयुक्त राज्य अमेरिकाले डब्लुएचओको कार्यसञ्चालनका लागि महत्त्वपूर्ण वित्तीय सहयोग प्रदान गर्दछ ।

यसको फिर्तीले संस्थाको महत्त्वपूर्ण पुनर्संरचना गर्ने अपेक्षा गरिएको छ र यसले विश्वव्यापी स्वास्थ्य पहलहरूलाई थप अवरुद्ध गर्न सक्छ । ट्रम्पले डब्लुएचओसँगको सम्बन्ध तोड्न खोजेको यो दोस्रो पटक हो । आफ्नो पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकाले महामारीको सुरुआती चरणमा सङ्गठन चीनबाट अत्यधिक प्रभावित भएको आरोप लगाउँदै फिर्ता हुने आशयको सूचना जारी गरेको थियो । त्यो कदम पछि पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनअन्तर्गत उल्ट्याइएको थियो ।

चीनद्वारा समर्थनको प्रतिज्ञा –

बेइजिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेइजिङले डब्लुएचओलाई समर्थन जारी राख्ने बताएका छन् । “डब्लुएचओको भूमिका कमजोर नभई बलियो मात्र हुनुपर्छ”, गुओ जियाकुनले भने, “चीनले सधैँझैँ डब्लुएचओलाई आफ्नो जिम्मेवारी पूरा गर्न सहयोग गर्नेछ… र मानवताका लागि स्वास्थ्यको साझा समुदाय निर्माण गर्ने दिशामा काम गर्नेछ ।”

आफ्नो नयाँ कार्यकारी आदेशमा ट्रम्पले एजेन्सीहरूलाई ‘संयुक्त राज्य सरकारको कुनै पनि कोष, समर्थन, वा विश्व स्वास्थ्य सङ्गठनलाई स्रोतहरू हस्तान्तरणलाई रोक्न’ र ‘विश्व स्वास्थ्य सङ्गठनले पहिले गरेको आवश्यक गतिविधिहरू ग्रहण गर्न विश्वसनीय र पारदर्शी संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय साझेदारहरूको पहिचान गर्न’ निर्देशन दिए।

प्रशासनले बाइडेनको सन् २०२४ को अमेरिकी विश्वव्यापी स्वास्थ्य सुरक्षा रणनीतिको समीक्षा र खारेज गर्ने योजना पनि घोषणा गरेको छ । उक्त रणनीति सङ्क्रामक रोगका खतराहरूलाई ‘सकेसम्म चाँडो’ रोक्न, पत्ता लगाउन र प्रतिक्रिया दिन डिजाइन गरिएको थियो ।