तिब्बती रूखका घेराहरूले जलवायु तनाव र चिनियाँ वंशवादबीच सम्बन्ध देखाए : अध्ययन

-



     सफल आवाज    
     माघ २९ गते २०८१ मा प्रकाशित



बेइजिङ, २९ माघ । जलवायु तनाव र सामाजिक अशान्तिबीचको ऐतिहासिक सम्बन्धलाई उजागर गर्दै हजारौँ वर्षको वर्षाको ढाँचा पछ्याउने एक अध्ययनले सुक्खा अवधिहरू चीनमा वंशवादी उथलपुथलको युगहरूसँग मिल्दोजुल्दो पाएको छ । एक अनुमान अनुसार गत वर्ष विश्वव्यापी र चीन दुवैमा सबैभन्दा तातो वर्ष रेकर्ड गरियो ।

चरम मौसमी घटनाहरूले विश्वभर विनाश मच्चाए र प्राकृतिक प्रकोपहरूले तीन खर्ब १० अर्ब डलरको आर्थिक क्षति पुर्‍याएको थियो । तिब्बती पठारमा किलियन जुनिपर रूखहरूको घेरा विश्लेषणको आधारमा यस महिना प्रकाशित अनुसन्धानले जलवायु तनावले कसरी समाज र शक्तिलाई हजारौँ वर्षअघि परिवर्तन गरेको थियो भन्ने बारे झलक प्रस्तुत गर्दछ।

“विश्वव्यापी जलवायु परिवर्तनबारे बढ्दो चिन्ताहरूलाई ध्यानमा राख्दा ऐतिहासिक र वर्तमान दुवै ‘हाइड्रोक्लाइमेट’ मा परिवर्तनहरू बुझ्न महत्त्वपूर्ण छ”, अनुसन्धानकर्ताहरूले प्रतिष्ठित नेचर जर्नलमा प्रकाशित प्रतिवेदनमा लेखेका छन् । रुखका घेराहरूमा भएका आइसोटोपहरू –– विशिष्ट गुणहरू भएका रासायनिक तत्वका रूपहरू –– को परिवर्तनलाई समय–समयमा वर्षाको विविधता बुझ्न प्रयोग गर्न सकिन्छ ।

यसले चिनियाँ एकेडेमी अफ साइन्सेजका धेरै अनुसन्धानकर्ताहरूलाई विगत तीन हजार चार सय ७६ वर्षको जलवायु रेकर्डको पुनर्निर्माण गर्न सक्षम बनायो । “हाम्रो जल–जलवायु पुनर्निर्माणले लामो आद्र्र अवधिपछि दीर्घकालीन वर्षा घट्ने तीन विशिष्ट चरणसहित धेरै चिनियाँ राजवंशको उदय र पतन सुक्खा अवस्थातर्फको महत्त्वपूर्ण परिवर्तनको समयसँग मेल खान्छ भन्ने सङ्केत गर्दछ”, प्रतिवेदनमा भनिएको छ ।