युक्रेन युद्ध तेस्रो बर्षमाः युक्रेनी शान्तिका लागि पद त्याग्न तयार रहेको जेलेन्स्कीको भनाइ

-



     सफल आवाज    
     फागुन १२ गते २०८१ मा प्रकाशित



किएभ, युक्रेन, १२ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । सोमबारको युरोपेली बैठकलाई उद्धृत गर्दै उनले भने, “यदि युरोपेली देशहरूबीच मतभेद भयो भने त्यो दुःखी परिवारजस्तो हुनेछ ।”

सोमबारदेखि युक्रेनमा हुने युरोपेली नेताहरूको बैठकका सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा उनले त्यहाँ केही कठिन निर्णय गर्न बाँकी रहेको बताए। युक्रेनी अधिकारीका अनुसार नेताहरूले बैठकमा आफ्नो आगामी रणनीतिबारे छलफल गर्नेछन् भने जेलेन्स्कीले युक्रेनको सुरक्षा प्रत्याभूतिको बारेमा पनि कुरा गर्नेछन् ।

जेलेन्स्कीले भने, “यो युद्ध हो, बच्चाको खेल होइन। हामीलाई साझेदारी चाहिएको छ, हामीलाई सहयोग चाहिएको छ, तर हामी हाम्रो स्वतन्त्रता गुमाउन सक्दैनौं र हामी हाम्रो सम्मान गुमाउन सक्दैनौं।” नयाँ अमेरिकी प्रशासनको चर्को आलोचना खेपिरहेका जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्नुअघि डोनाल्ड ट्रम्पलाई भेट्न चाहेको पनि बताए।

जेलेन्स्कीले युद्ध अन्त्यका लागि कुनै पनि सम्झौताअन्तर्गत युक्रेनलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को सदस्यता दिन माग गर्दै आएका छन् तर वासिङ्टन नेतृत्वको गठबन्धनले प्रतिबद्धता जनाउन आनाकानी गर्दै आएको छ ।