भारतको रक्षा र सुरक्षा साझेदारीमा इयुको नजर : भोन डेर लेयन

-



     सफल आवाज    
     फागुन १६ गते २०८१ मा प्रकाशित



नयाँदिल्ली, १६ फागुन । युरोपेली सङ्घ (इयु) ले भारतसँग सुरक्षा र रक्षा साझेदारी अन्वेषण गरिरहेको इयुकी प्रमुख उर्सुला भोन डेर लेयनले शुक्रबार नयाँदिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुअघि बताए ।

भोन डेर लेयन आफ्नो परम्परागत सहयोगी संयुक्त राज्य अमेरिकासँग बिग्रिएको सम्बन्ध बचाउन खोज्दै आफ्ना कमिश्नहरूको समूहका साथ दुई दिने भ्रमणका लागि बिहीबार भारत आइपुगेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मित्र र शत्रु दुवैका विरुद्ध धेरै शुल्क लगाउने घोषणा गरेपछि प्रतिनिधिमण्डलले विश्वको पाँचौँ ठूलो अर्थतन्त्रसँग आफ्नो कूटनीतिक र व्यापारिक सम्बन्धलाई गहिरो बनाउने लक्ष्य राखेको छ ।

इयुले एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावबारे साझा चिन्ताहरू, लचिलो आपूर्ति शृङ्खला निर्माण र कृत्रिम बौद्धिकता (एआई) सहित नयाँ प्रविधिहरूको शासनबारे भारतसँग साझा आधार खोज्ने आशा पनि राखेको छ । “हामी जापान र दक्षिण कोरियासँगको साझेदारीको ढाँचामा भारतसँग भविष्यको सुरक्षा र रक्षा साझेदारीको अन्वेषण गर्दैछौँ भनेर म घोषणा गर्न सक्छु”, इयु प्रमुखले शुक्रबार भारतीय राजधानीमा सार्वजनिक भाषणमा भने ।

“यसले हामीलाई साझा खतराहरू विरुद्ध हाम्रो काम बढाउन मद्दत गर्नेछ, चाहे त्यो सीमापार आतङ्कवाद, समुद्री सुरक्षा खतरा, साइबर आक्रमण वा हामीले देख्ने नयाँ घटना होस् : हाम्रो महत्त्वपूर्ण पूर्वाधारमा आक्रमण ।” इयु भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । इयुले सन् २०२३ मा एक खर्ब २४ अर्ब युरो (एक खर्ब ३० अर्ब डलर) मूल्य बराबरको वस्तुहरूको व्यापार गरेको थियो । ब्रसेल्सका अनुसार यो कूल भारतीय व्यापारको १२ प्रतिशतभन्दा बढी हो ।