स्वस्तिक हस्तकला उद्योगमा ३ दिने मूर्तिकला तालिम सुरु

-



     सफल आवाज    
     फागुन २५ गते २०८१ मा प्रकाशित



पोखरा, २५ फागुन । स्वस्तिक हस्तकला उद्योग पोखरा १, बागबजार र कास्की पोखरा हस्तकला संघको आयोजनामा तीन दिने मूतिकला कार्यशाला तालिम आजबाट सुरु भएको छ ।

तालिम स्वस्तिक हस्तकला उद्योग, पोखरा १ बागबजारमा सुरु गरिएको स्वस्तिक हस्तकला उद्योगका प्रोप्राईटर तथा कास्की पोखरा हस्तकला संघका अध्यक्ष सीता गुरुङले जानकारी दिईन् ।

फागुन २७ गतेसम्म चल्ने तालिमको कास्की पोखरा हस्तकला संघका संस्थापक हीरा भट्टराईले शुभारम्भ गर्दै सीप सिकेर आर्यआर्जनमा जोडिन तालिम महत्वपूर्ण भएको बताईन् ।

उनले पुनः प्रयोगमा ल्याउन सकिने बस्तुहरुबाट मूर्ति लगायतका विभिन्न बस्तुहरु बनाउन सकिने र त्यसबाट आयआर्जन पनि हुने बताईन् । तीन दिने तालिमको उपयोग गरी भविष्यमा आत्मनिर्भरको बाटोमा लाग्न सहभागिलाई आग्रह गरिन् ।

कार्यक्रममा वालमन्दिर टोल विकास संस्थाकी अध्यक्ष गोदावरी तामाङले खेर जाने बस्तुहरुलाई पुनः प्रयोगमा ल्याउन सकिने र यसबाट आर्थिक लिन सकिने भएकोले फाइदा हुने बताइन्।

२० जना महिला सहभागि भएको तालिमको प्रशिक्षकमा मीन राना मगर रहेका छन् । उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न र आत्मनिर्भर हुन बन्न सकिनेमा जाेड दिए ।

संघका सचिव पम्फा थापाले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष रजनी कोईरालाले स्वागत गरेकी थिईन् ।

कार्यक्रम स्वस्तिक हस्तकला उद्योगकी प्रोप्राईटर तथा कास्की पोखरा हस्तकलाकी सीता गुरुङको अध्यक्षतामा भएको थियो । सो अवसरमा गुरुङले त्यसै खेर जाने, पुनः प्रयोगमा ल्याउन सकिने बस्तुहरु काठको धूलो, पूरानो फोम, पूरानो कपडा, कागज लगाउतबाट नेपाली राष्ट्रिय चरा डाँफे बनाउने सिप सिकाईएको बताईन् ।

तालिममा महिला, विद्यार्थी तथा शिक्षकको पनि सहभागिता रहेको जानकारी दिईन् । उनले यस प्रकारको तालिमले जो कसैलाई आत्मनिर्भर बन्नका लागि फलदायि हुने बताईन् ।