चीनसँगको सम्बन्ध थप प्रगाढ बनाउने फ्रान्सको भनाइ

-



     सफल आवाज    
     चैत्र १४ गते २०८१ मा प्रकाशित



बेइजिङ, १४ चैत । फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल ब्यारोटले बिहीबार चिनियाँ समकक्षी वाङ यीसँग भेट गर्दै भूराजनीतिक सङ्कटको सामना गर्न ‘फ्रान्स र चीनबीच सशक्त साझेदारी’ का लागि आह्वान गरेका छन् । युक्रेनमा रुसी युद्धको समाधानका साथै मध्यपूर्वको द्वन्द्व र चीन र युरोपेली सङ्घबीचको व्यापार तनावको समाधानमा वार्ता केन्द्रित हुने पेरिसले अपेक्षा गरेको छ ।

ब्यारोटले बिहीबार बिहान बेइजिङमा चीनका उच्च कूटनीतिज्ञ वाङलाई भेटेर भने, “जताततै सङ्कटको गति तीव्ररूपमा बढिरहेको छ। यतिवेला चीन र फ्रान्सबीचको सहकार्य सशक्त हुनु जरूरी छ।” कोरियाली प्रायद्वीप र युक्रेनमा बेइजिङ र पेरिसबीच ‘मतभेद’ रहेको स्वीकार गर्दै उनले भने, “हाम्रा दुई देशले मिलेर काम गर्नुपर्छ।”

“राजनीतिक, आर्थिक र सुरक्षा चुनौतीहरूको सामना गर्दै द्रूत गतिमा नयाँ युरोप उदय भइरहेको छ। यसको एकमात्र मार्गनिर्देश रणनीतिक स्वायत्तता हो,” उनले भने। “यो नयाँ युरोपले आफ्नो रक्षा, ऊर्जा सुरक्षा र भविष्यका प्रविधिहरूमा ठूलो लगानी गरिरहेको छ,” ब्यारोटले भने। उनले भने, “आफ्नो हित र मूल्यमान्यताको रक्षाका लागि फ्रान्स विशेष सजग रहनेछ ।”

भेटमा चिनियाँ कुटनीतिज्ञ वाङले ‘अन्तर्राष्ट्रिय परिस्थिति फेरि परिवर्तन भएको र यो अझ अराजक हुने’ चेतावनी दिएका थिए। उहाँले दुवै देशलाई ‘बहुपक्षीयताको पालना गर्न’ र ‘विश्व शान्ति र विकासका लागि मिलेर काम गर्न’ आग्रह गरे।